देश निर्वाचनको मुखमा पुग्नैलाग्दा प्रतिस्पर्धी राजनीतिक दलहरू आआफ्नो दलले प्रतिनिधि सभामा बढीमा कतिसम्म सिट जित्ला भन्ने अनुमानमा लागेका छन् । नयाँ पत्रिकाले नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई उद्धृत गर्दै सो दलले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये १०० सिटसम्म ल्याउने आकलन गरेको समाचार प्रकाशित गरेको छ । पौडेलका अनुसार ६० सिट सहजै विजयी हुने र अलिकति मेहनत गरेको अवस्थामा नेपाली कांग्रेसले १०० सिटसम्म ल्याउनसक्ने देखिन्छ ।
नेकपा (एमाले)ले आफूले उमेदवारी दिएको स्थानमा ९० प्रतिशत विजयी हुने नयाँ पत्रिकालाई बताएको छ । ९६ स्थानमा समेदवारी दिएको एमालेको दाबा सही भएमा प्रत्यक्षतर्फ एमालेले ८७ सिट ल्याउने अनुमान रहेको छ । कम्युनिस्ट गठबन्धनमा एमालेले ९६ स्थानमा उमेदवारी दिएको छ भने नेकपा (माओवादी केन्द्र)ले ६२ स्थानमा उमेदवारी दिएको छ । सात स्थानमा साना दल र स्वतन्त्र उमेदवारलाई गठबन्धनले समर्थन गरेको छ । बार्हखरिमा खबर रहेको छ।
नयाँ पत्रिकाको समाचारअनुसार पशुपति शमशेर राणाको पार्टी राप्रपा (प्रजातान्त्रिक) ले आफूले उमेदवारी दिएको चारै स्थानमा विजयी हुने दाबी गरेको छ । नेपाली कांग्रेससँग तालमेल गरेर राप्रपा (प्रजातान्त्रिक)ले सिन्धुपाल्चोक १, चितवन ३, रुपन्देही ३ र धनकुटामा उमेदवार उठाएको छ । त्यस्तै कमल थापाको राप्रपाले पनि स्थानीय चुनावमा भन्दा नतिजामा सुधार गर्ने आशा राखेको छ । संघीय समाजवादी फोरम २ नं प्रदेशमा बहुमत ल्याएर राष्ट्रियरूपमा आफूलाई तेस्रो शक्तिको रुपमा स्थापित गर्ने सोचका साथ अघि बढेको पनि पत्रिकाले लेखेको छ ।
देउवा सहित कैयौं दम्पती मैदानमा
बिहीबारका राजधानी तथा नागरिकले चुनावी मैदानमा उत्रेका दम्पतीको विषयमा समाचार बनाएका छन् । राजधानीले प्रथम पृष्ठमा यो समाचार प्रकाशित गरेको छ भने नागरिकले पाँचौ पृष्ठमा ।
आजको राजधानी दैनिकले चुनावी मैदानमा दस जोडी प्रतिस्पर्धामा उत्रिएका लेखको छ । सबैभन्दा चर्चित जोडी प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु देउवाको छ । पति डडेल्धुराबाट प्रतिस्पर्धामा छन् भने पत्नी कैलाली पाँचबाट । त्यस्तै नेपाली कांग्रेसबाटै पूर्व रक्षामन्त्री बालकृष्ण खाँड तथा उनकी पत्नी मञ्जु खाँडपनि चुनावी मैदानमा समानुपातिकमा रहेका छन् ।
एमालेबाट वामदेव गौतम बर्दियाको १ नंबर क्षेत्रमा उठेका छन् भने उनकी पत्नी तुलसा थापा एमालेको समानुपातिक सूचीमा छिन् । त्यस्तै शंकर पोखरेल दाङ–२ ‘क’ बाट प्रदेश सभामा उठेका छन् भने उनकी पत्नी सुजिता शाक्य प्रतिनिधि सभाको समानुपातिक सूचीमा छिन् । एमालेकै शेरबहादुर तामाङ सिन्धुपाल्चोकको प्रदेश सभामा उमेदवार छन् भने उनकी पत्नी उषाकला राई पनि समानुपातिकमा छिन् ।
सबैभन्दा धेरै जोडी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचनमा उत्रेको राजधानीले लेखेको छ । सो दैनिकअनुसार माओवादी केन्द्रबाट चार दम्पती चुनावी अभियानमा उमेदवार छन् । पूर्व अर्थमन्त्री वर्षमान पुन रोल्पाबाट प्रत्यक्षमा उमेदवार छन् भने उनकी पत्नी पूर्व सभामुख ओनसरी घर्ती समानुपातिक सूचीमा । त्यस्तै पूर्वगृहमन्त्री शक्ति बस्नेत जाजरकोटबाट प्रतिस्पर्धामा छन् भने उनकी पत्नी सत्या पहाडी समानुपातिकमा । अर्का नेता देव गुरुङ लमजुङबाट उठ्दैछन् भने उनकी पत्नी यशोदा सुवेदी गुरुङ समानुपातिक सूचीमा । त्यस्तै हितमान शाक्य काठमाडौं १० बाट उमेदवार छन् भने उनकी पत्नी अमृता थापा मगर समानुपातिकमा ।
नागरिक दैनिकमा मणि दाहालले थप नाम जुटाएका छन् । दाहालको समाचारका अनुसार एमालेका रघुवीर महासेठ तथा उनकी पत्नी जुली महासेठ, राप्रपा (प्रजातान्त्रिक) का सगुन लावती र बबिना लावती, संघीय समाजवादीका अशोक राई र सुशिला राई, एमालेका विरोध खतिवडा र मुनु खतिवडा तथा कृष्णगोपाल श्रेष्ठ र बिना श्रेष्ठ पनि पति पत्नी नै उमेदवार बनाइएका भाग्यमानीहरू हुन् । त्यस्तै राजपाका अनिल झा र डिम्पल झा, नेकपा (माले)का सिपी मैनाली र पत्नी निलम खड्का तथा राप्रपाका बुद्धिमान तामाङ र पत्नी सरस्वती पनि दुवै समानुपातिक सूचीमा परेका दम्पती हुन् ।
उमेदवारमा खर्चको होडबाजी
बिहीबारको कान्तिपुर तथा अन्नपूर्ण पोस्टले निर्वाचन खर्चको विषयमा समाचार बनाएका छन् । कान्तिपुरले उमेदवारमा खर्चको होडबाजी चलेको समाचारलाई पत्रिकाको देब्रे कुनाको उपल्लो दुई कोलम दिएको छ । पर्सा १ की एमाले उमेदवारको उदाहरणबाट सुरु गरिएको अखण्ड भण्डारी र भूषण यादवको रिपोर्टमा निर्वाचन आयोगले प्रतिनिधिसभा उमेदवारको खर्चको सीमा २५ लाख तोके पनि खर्च भने ५० लाखबाट कम नहुने आकलन गरिएको छ । त्यस्तै कान्तिपुरले आयोगको केमा कति खर्च हुन्छ भन्ने विषय र अनुमानित खर्चको विवरण राखेर टेबल पनि बनाएको छ ।
अन्नपूर्ण पोस्टले महँगो निर्वाचन भन्दै सरकारी खर्च कसरी बढ्दै गएको छ भन्ने तथ्यांकको तस्बिर प्रस्तुत गरेको छ । विसं २०६४ सालमा २ अर्ब ८१ करोड खर्च हुँदा प्रतिमतदाता २७५.८ खर्च भएकोमा २०७० सालमा ४ अर्ब ६७ करोड तथा २०७४ सालमा ८ अर्ब ५ करोड र २०७४ सालमा १० अर्ब ५३ करोड खर्च हुँदैछ । प्रतिमतदाता खर्च पनि २०७० मा ३८४, २०७४ मा ४९० भएको तथा २०७४ मा करिब ६८२ रुपियाँ पुग्ने अनुमान गरिएको छ ।
सम्पादकीय
बिहीबार कान्तिपुरले भड्किलो चुनावको विषयमा सम्पादकीय लेख्दै यसले अन्ततः भ्रष्टाचार बढाउने काममा सहयोग गर्छ भन्दै सरकार र राजनीतिक दललाई यसप्रति गम्भीर बन्न पनि सुझाएको छ । निर्वाचन आयोगको सीमा निर्धारण औपचारिकतामा सीमित हुनु हुँदैन भन्दै जथाभावी चन्दा असुल्ने प्रथा बन्द गर्नुपर्ने र राष्ट्रिय पार्टीलाई आएका मतका आधारमा राज्यकोषबाट अनुदान दिने व्यवस्था गर्नुपर्ने विषय पनि कान्तिपुरले उठाएको छ ।
नयाँ पत्रिकाले मेलम्चीको पानी अबको केही महिनामा राजधानी भित्रिने कुरामा शंका नरहेको भन्दै आशामुखी सम्पादकीय लेखेको छ ।
राजधानीले स्वच्छ निर्वाचनको पक्षका लागि विदेशी संस्थालाई निर्वाचन पर्यवेक्षकको अनुमति दिएको परिप्रेक्ष्यमा निर्वाचन स्वच्छ बनोस् र विदेशीले तीतो टिप्पणी गर्न नपरोस् भन्ने आग्रह गरेको छ । हिमालय टाइम्सले निर्वाचन कर्मचारीको मताधिकारको विषयमा निर्वाचन आयोगले विचार गर्नुपर्ने धारणा राखेको छ । गोरखापत्रले अब समृद्धिको पालो भनेर देश विकास हुने आशासहित सम्पादकीय टिप्पणी गरेको छ ।
अन्नपूर्ण पोस्ट तथा नागरिकले घोषणापत्रमा टिप्पणी गर्दै सम्पादकीय लेखेका छन् । नागरिकले अपत्यारिला भनेको छ भने पोस्टले घोषणापत्रलाई कर्मकाण्डी भनेको छ ।



