मुकुन्द सुवेदी/ बर्दिया, २५ कार्तिक । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकको विकास र समृद्धिका लागि वाम गठबन्धनको आवश्यकता रहेको बताउनु भएको छ । गुलरिया नगरपालिकाको वडा नं ११ र १२ मा आयोजित वडा स्तरीय चुनवी भेलालाई सम्बोधन गर्दै मुलुकलाई समृद्धि तर्फ अगाडी बढाउनका लागि गठबन्धन आवश्यक रहेको हुँदा वाम गठबन्धनलाई जनताले मत दिनु पर्ने बताउनु भएको हो ।

पटक पटक बहुमत सहित सरकारमा पुगे पनि कांग्रेसले कुनै उदाहरणीय काम गर्न नसकेको आरोप लगाउँदै अब दुईतिहाई बहुमतको सरकार बनाउने बाम गठबन्धनको पालो रहेको ठोकुवा गर्नुभयो । उहाँले भन्नु भयो, ‘सधैभरी मुलुकमा देखिएको अस्थिर र अन्यौलताको राजनीति बाम गठबन्धनले तोड्दै स्थायी बातावरण बनाउन लाग्दैछ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कम्युनिष्टहरु एक भई अधिनायकवाद लाद्न खोजेको भ्रम फैलाउन काँग्रेस लागि परेको भन्दै नेता गौतमले त्यस तर्फ चनाखो रहन सबैमा आग्रह गर्नुभयो । बर्दिया क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य उमेद्वार समेत रहेका उपाध्यक्ष गौतमले वामपन्थीको स्थायी सरकारले नै जनताका हर समस्याको समाधान गर्ने दावी गर्नुभयो ।

चुनावी सभालाई बर्दिया निर्वाचन क्षेत्र नं. १ (१) का प्रदेश सभा उमेद्वार तिलक शर्मा हिमाल लगायतले संवोधन गर्नुभएको थियो । सो सभामा राष्ट्रिय जनता पार्टीका जिल्ला सचिव समसुद्दिन शेष सहित ६० जना कार्यकर्ता पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।