कात्तिक । दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने भएको छ । त्योपनि निर्वाचन अगाडि नै एकीकरणको तयारी भएको हो ।
एमाले र माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण गर्ने सहमतिमा पुगेका हुन् । दैनिक नेपालमा खबर रहेको छ।
निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको अन्तिम तयारी भइरहेको हो ।
निर्वाचन प्रचार अभियानबीच दुवै पार्टीका शीर्ष नेताहरू फोन, गोप्य भेटघाटमार्फत एकता घोषणालाई अन्तिम रूप दिन छलफल गरिरहेको स्रोतले जनाएको छ ।
पार्टी एकता तयारीका लागि बनाइएको उच्चस्तरीय एकता संयोजन समिति र कार्यदलमार्फत दुई पार्टीबीच रहेका सैद्धान्तिक र नीतिगत मतभेदसहित नेतृत्व र नेता व्यवस्थापनका विषयमा अन्तिम चरणको कुराकानी भइरहेको एमालेका एक शीर्ष नेताले बताए ।
पहिलो चरणको निर्वाचन मिति सम्मुखमा पार्टी एकीकरणको घोषणा गर्न दुवै पार्टीका शीर्ष नेता लागि परेका छन् । स्रोतका अनुसार उनीहरूले पहिलो चरणको निर्वाचनबाटै वाम गठबन्धनको उम्मेदवारको पक्षमा अत्यधिक मत खसोस्, कार्यकर्ता तहमा विश्वास पैदा होस् भन्ने उद्देश्यका साथ पार्टी एकीकरणको घोषणा गर्न लागेका हुन् ।
एकता संयोजन समितिमा एमालेका तर्फबाट पार्टीअध्यक्ष केपी ओली, पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल छन् । माओवादी केन्द्रका तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् ।



