मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नं.३ बाट राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतोले उम्मेदवारी मनोनयन दर्ता गराएपछि यहाँको राजनीतिक सरगर्मी बढेको छ । नेपाली कांग्रेसको आधार इलाका मानिने धनुषामा राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका महतोले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई चुनौति दिदै छन् ।

गृहजिल्ला सर्लाहीको संसदीय क्षेत्रलाई त्यागेर धनुषाको क्षेत्र नं.३ मा उम्मेदवारी दिएका महतोले चुनाव जित्ने दावीगर्दै आएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं.४ मा चुनाव नलडेर जनकपुर आई धनुषा क्षेत्र नं.३ मा राजेन्द्र महतोले किन उम्मेदवारी दिए भन्ने प्रश्न अधिकांश मतदाताहरुको रहेको छ ।

स्थानीय तहको निर्वाचनमा धनुषाको सदरमुकाम रहेको जनकपुर उपमहानगरपालिकामा राजपाका मेयर लालकिशोर साह विजयी भएका थिए । जनकपुरको मेयरमा राजपा निर्वाचित भएपछि कांग्रेसको गढ ढलेको विश्लेषण भएका थिए । ताजा मत परिणामको आँकडालाई गणना गर्दै राजेन्द्र महतो जनकपुर आएको हुन सक्ने कतिपय जानकारहरुको बुझाई छ ।

त्यसमा पनि जनकपुरमा साहुजी समुदाय नै बहुसंख्यक रहेका कारण साहुजीको मत सजिलै प्राप्त गर्न सकिने उद्देश्यका साथ महतो जनकपुर आएको चर्चा हुने गरेको छ । विगतमा दुई पटक संविधानसभाको चुनाव हुँदा मधेसी जनअधिकार फोरम नेपालको टिकटबाट पहिलो पटक र सदभावना पार्टीको टिकटबाट दोस्रो पटक संजय साह निर्वाचित भएपछि दुईवटा तथ्य एक मधेसवादी दल र अर्को साहुजी समुदाय नै निर्वाचित हुने गरेको तथ्यलाई निश्कर्ष निकालेर चुनावी गणितको आधारमा राजेन्द्र महतो जनकपुर आएको हुन सक्ने आँकलन गरिने गरिएको छ ।

तर, राजेन्द्र महतोको बुझाई भने अर्कै छ । महतोका अनुसार प्रदेश नं.२ अब मधेस प्रदेश बन्ने र मधेस प्रदेशमा राजपा फोरम गठबन्धनकै मधेस सरकार बन्ने हुनाले प्रदेश नं.२ को राजधानी जनकपुरबाट प्रतिनिधिसभाका लागि पनि राजपाले नै जित्नुपर्ने राजपाको रणनीति अनुसार महतोलाई धनुषा ३ मा खटाइएको हो ।

मधेस आन्दोलनको क्रममा अधिकार प्राप्तिका लागि वा मधेसी जनताको अधिकार सहितको संविधान जारी हुन नसक्नुमा सबैभन्दा महत्वपुर्ण कारण नेपाली कांग्रेसका मधेसी नेता विमलेन्द्र निधि नै रहेको ठहर गर्दै राजपा नेपालले अबको लडाई काठमाण्डौमा लडनुभन्दा पनि मधेसमै विमलेन्द्र निधिसँग पहिले निर्वाचनको लडाई जित्नु आवश्यक रहेकाले आफुलाई पार्टीले निर्णय गरेर जनकपुर पठाएको महतो बताउँछन् ।

सर्लाही क्षेत्र नं.४ आफ्नो बलियो पकड भएको संसदीय क्षेत्रलाई छोडेर आफ्नो पार्टीका जिल्ला अध्यक्ष प्रमोद साहलाई टिकट दिई जनकपुर आउनु पछाडी दुइ नम्बर प्रदेशको राजधानीमा प्रभाव राख्नु रहेको जानकारहरु बताउछ्न । स्थानीय तहमा जनकपुरमा स्थानीय सरकार राजपाले बनाइसकेको छ, प्रदेशमा प्रदेश सरकार बनाउँदै छ र केन्द्रमा पनि प्रदेश नं.२ को राजधानीबाट मधेस आन्दोलनको अजेण्डालाई स्थापित गर्नका निम्ति राजपाले नै प्रतिनिधित्व गर्नुपर्छ भन्ने कुराको निकर््यौल सहित आफु जनकपुरमा आएको महतो बताउँछन् ।

‘संविधान जारी गर्ने क्रममा यदि विमलेन्द्र निधिले मात्रै अडान लिईदिएको भए आज मधेस विरोधी संविधान जारी हुने थिएन । नेपाली कांग्रेसका थुप्रै मधेसी सभाषदहरु उनको पछि पछि थिए’ महतोले लोकान्तरसंग भने ‘तर, पार्टीमा ठुलो पद पाउने, सरकारमा ठुलो मन्त्री पाउने लोभमा आएर निधिले सिंगो मधेस आन्दोलनको जनभावनालाई उपेक्षा गर्दै संविधान जारी गर्न गए ।’

भारतका तत्कालिन विदेश सचिव एस जयशंकरले पनि तत्काल केही दिनको लागि रोकेर भएपनि मधेसी जनताको भावनालाई सम्बोधन गर्ने गरी संविधान जारी गर्न भन्दा पनि निधिले नमानेपछि मधेस विरोधी संविधान जारी गरेकाले मधेसी जनताको अधिकार प्राप्तिको शत्रु काठमाण्डौमा बस्ने नेताहरु नभएर मधेसमै मधेसी जनताको मत लिएर जाने कांग्रेस, एमाले, माओवादी लगायतका सांसदहरु प्रमुख शत्रु भएका कारण निधिसँग लडाई लड्न अब उनकै मैदानमा चुनावमा भिडेको महतो बताउँछन् ।

महतोलाई बाहिरिया (पर्यटक उम्मेदवार) भन्दै धनुषाका जनताले धनुषा पुत्र विमलेन्द्र निधिलाई नै मतदान गर्ने कांग्रेसको दावी छ । तर भन्छन, ‘सिंगो मधेस नै मेरो आफ्नो घर हो । जब मधेस आन्दोलन भईरहेको थियो, सिंगो मधेसमै आफुले मोर्चाको अगुवाई गरेको थिएँ ।’

राजेन्द्र महतो अहिले चुनाव प्रचारप्रसारमा व्यस्त छन् । आफु जित्नेमा कुनै शंका नरहेको उनको दावी छ । ‘सबै हिसाव किताव गरेरै डिटरमाईन्ड भएर जनकपुर आएको हो, जनकपुरमा यसपटक मधेसवादीको जित सुनिश्चित छ । २१ मंसिर पछि मधेसका मसिया ठान्नेको राजनीति समाप्त हुँदैछ’ महतो दावी गर्छन् ।

महतोको राजनीतिक यात्रा

२०४६ सालको आन्दोलनको समयमा महतो काठमाण्डौमा व्यापार व्यवसायमा पनि जमेका थिए । प्रविणता प्रमाण पत्र तह र स्नात्तक सम्मको अध्ययन गर्दा काठमाण्डौमा मधेसी समुदाय प्रति हुने गरेको भेदभाव र विभेद उनले आफै पनि भोगेका थिए ।

त्यसकारण २०४६ सालको आन्दोलनमा गजेन्द्रनारायण सिंहको तत्कालिन सदभावना परिषदमा अप्रत्यक्ष रुपमा सहयोग गरेका थिए । पञ्चायत कालमा नै गजेन्द्र नारायण सिंह सप्तरीबाट लड्दा धोतीको पहिचान र मधेसको मुद्दा उठाउँदा सिंह प्रति महतो विद्यार्थी काल देखि नै आकर्षित थिए ।

अध्ययन पश्चात काठमाण्डौमा उनी व्यापारमा जमेका थिए । ट्राभल एजेन्सी, कुरियर सेवा, मोटर सेवा लगायत विभिन्न सेवा मुलक व्यवसायमा जमेका महतो २०४६ सालको आन्दोलन पछि काठमाण्डौको डिल्ली बजारमा गजेन्द्र नारायण सिंहसँगको भेटघाट पछि सदभावना परिषदमा आवद्ध भए ।

२०४८ सालको पहिलो निर्वाचनमा सर्लाहीबाट महतोले प्रतिनिधि सभाको चुनाव लड्दा नेपाली कांग्रेसका मिना पाण्डेसँग पराजित भए । १३ सय मत अन्तरले महतो दोस्रो स्थानमा पुगेका थिए ।
त्यसपछि २०५१ सालको मध्यावधि चुनावमा पुनः सोही क्षेत्रबाट चुनाव लड्दा ३ सय मत अन्तरले फेरी मिना पाण्डेसँग महतो पराजित भए । त्यतिबेला देशका पुर्व प्रधानमन्त्री सूर्यबहादुर थापा पनि सोही क्षेत्रबाट चुनाव लड्दा थापा तेस्रो भएका थिए ।

२०५६ सालको निर्वाचनमा फेरी महतोले मिना पाण्डे र सुर्यबहादुर थापासँग चुनाव लडे तर त्यहाँ महतो अत्यधिक मत अन्तरले निर्वाचित भए । २०६४ सालको पहिलो संविधानसभाको चुनावमा अत्यधिक मतले सदभावना पार्टीका अध्यक्षको हैसियतमा राजेन्द्र महतो चुनाव जिते पनि २०७० सालमा भएको दोस्रो पटकको संविधानसभाको चुनावमा महतो तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवबाट पराजित भए ।

२०६२÷०६३ को जनआन्दोलन पश्चात नेपाली कांग्रेसका नेता गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा राजेन्द्र महतो उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रीको रुपमा पहिलो पटक मन्त्री बनेका थिए । त्यसपछि प्रथम संविधानसभाको चुनाव पछि पुष्पकमल दाहाल प्रचण्डको मन्त्री परिषदमा र माधव नेपालको सरकारमा समेत बाणिज्य तथा आपुर्ति मन्त्री भए । त्यसैगरी बाबुराम भट्टराईको नेतृत्वको सरकारमा समेत स्वास्थ्य मन्त्री बनेका थिए ।

‘त्यतिबेला मधेसी मोर्चाले आन्दोलनलाई सडक, सदन र सरकार तिनवटै मोर्चाबाट अधिकारको लडाईलाई जारी राख्ने निर्णय गरेका कारण सरकारमा गएर अधिकारको लडाई जारी राख्यौं । आफुले विकास सम्बन्धी मन्त्रालय नपाएकोले पुर्वाधार विकास गर्न सकिएन’ पटक पटक सरकारमा गएर पनि मधेसको विकास किन नगरेको भन्ने सवालमा उनको जवाफ थियो ।

बाणिज्य तथा आपुर्ति मन्त्री भएको बेलामा नेपाल भारत व्यापार सन्धी, नेपाल भारत पारवहन सन्धी गर्नुका साथसाथै पेट्रोल र डिजलमा हुने मिसावट तथा भ्रष्टाचार रोक्नका लागि नेपालमा कहिल्यै हुन नसकेको पेट्रोल र डिजलको मुल्य समान गरेर मिसावट रोक्न सफल भएको महतो दावी गर्छन ।

स्वास्थ्य मन्त्री हुँदा जनकपुर अञ्चल अस्पताललाई ५ सय बेडको अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय गरेपनि पछिको मन्त्रीले त्यसलाई कार्यान्वयन नगरेको महतोको आरोप छ ।
अहिलेको निर्वाचनमा खास गरेर अधुरो संविधानलाई संशोधन गराउनका निम्ति र जनकपुर सहर विकासमा धेरै पछाडी रहेका कारण आफुले उम्मेदवारी दिएको महतो बताउँछन् । यो क्षेत्रबाट निधि विगतमा दुइपटक प्रत्यक्ष निर्वाचित भइसकेका छन् ।

लोकान्तर बाट साभर्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah