कञ्चनपुरमा नेपाली र भारतीय पक्षबीच सीमालाई लिएर विवाद भएको छ । पश्चिमी सीमानाका गड्डाचौकीबाट उत्तरमा पर्ने ब्रम्हदेव बजार जोड्ने सडक निर्माणको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको हो ।
भीमदत्त नगरपालिका–९ अन्तर्गत निर्माण हुन लागेको सडकमा जडान गरिने ह्युमपाईपको विषयलाई लिएर भारतीय पक्षले अवरोध गरेपछि विवाद बढेको स्थानीयले बताएका छन् । नेपाल–भारत सीमा पिलर ८०९–५ ‘ए’ नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाईपको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको हो ।
नेपाली भूमीमा निर्माण भइरहेको सडकमा भारतीय पक्षले आफ्नो भूमी भएको दावी गर्दै भारतीय नागरिक र हतियारसहित आएको एसएसवीको टोलीले ह्युमपाईप निकाल्न पर्ने दवाव दिएपछि बढेको विवादले सडक निर्माण अवरुद्ध भएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भारतीय पक्षका कारण सडक निर्माण कार्य अवरुद्ध भएको पुष्टि गरेका छन् । उनले भने,“‘‘सडकमा राखिन लागेको ह्युमपाईपले नजिकैको भारतीय बस्तीमा असुविधा पुग्ने भन्दै भारतीय पक्षले तत्काल ह्युमपाईप नराख्न दवाव दिएको देखियो,” घट्नास्थलको स्थलगत निरीक्षण गरेर फर्किएका खड्काले सोमबार बाह्रखरीसँग भने । भारतीय नागरिक र एसएसवीले ह्युमपाईपको विषयलाई लिएर गरेको अवरोधका बारेमा भारतीय पक्षसँग छलफल गरेर समाधान गरिने उनले बताए ।
गतवर्ष फागुनमा कल्भर्टकै विषयलाई लिएर भएको विवादमा एसएसवीले चलाएको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका अन्तरगत पर्ने आनन्द बजारका गोविन्द गौतमको ज्यान गएको थियो ।



