दोलखा, कात्तिक २९
शैलुङ गाउँपालिका वडा नं २ भुसाफेदाका कांग्रेस सभापति ढालबहादुर थापा मगरसहित एक सय बढी नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ । नेपाली कांग्रेस जस्तो पार्टी अव मुलुक र दोलखाको लागि कामै नलाग्ने प्रमाणित भइसकेको भन्दै सभापति थापा मगरसहित सवै नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो । जनता टाईम्समा खबर रहेको छ।
थापा मगरसहितका नेता कार्यकर्तालाई एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सभा २ का उम्मेदवार पशुपति चौलागाई, एमाले दोलखा इञ्चार्जसमेत रहनु भएका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, जिल्ला अध्यक्ष इश्वरचन्द्र पोखरेललगायतका नेताहरुले स्वागत गर्नुभयो । प्रवेशपछि बोल्दै नेता थापा मगरले कांग्रेस पार्टी अव जनताको लागि काम नलाग्ने प्रमाणित भइसकेपछि आफू त्यो पार्टीमा बस्न नसकेको प्रष्ट पार्नुभयो ।
‘कांग्रेस पार्टी र कांग्रेसका नेताहरु जनताको काम नगर्ने र देशको लागि अनुपयुक्त रहेकोले एमाले रोजें, एमालेका नेताहरु कांग्रेसको नेता जस्तो बेइमान र भ्रष्ट नबन्नु होला,’ प्रवेशकै क्रममा थापा मगरले भन्नुभयो,‘दोलखाको समृद्धि गर्ने पार्वत गुरुङ, पशुपति चौलागार्ए र बिशाल खडकालाई जिताउन हामीले एमाले रोजेका हौं, अहिलेको एक मात्र बिकल्प पनि यही हो, दोलखा कांग्रेसमा कोही बस्न हुन्न भन्ने मेरो आग्रह पनि छ ।’

भुसाफेदाका सिंगो कांग्रेस नेतृत्वलाई प्रवेश गराएपछि एमाले नेता गुरुङले उचित जिम्मेवारी दिने बताउनु भयो । उहाँले दोलखाको बिकाश र भुसाफोदाको बिकाशका लागि एमालेले पहलकदमी लिने प्रष्ट पार्नुभयो ।










