काठमाडौँ, कात्तिक ३०। नेपालकै होचा कलाकार दिपेन शाहको आज बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज निधन भएको हो । स्रोतका अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो ।
केही समयअघि उनले विश्वकै सबैभन्दा होँचो कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकडमा नाम लेखाउन प्रयास पनि थालेका थिए । उनको स्वास्थ्यमा पहिलेदेखि नै समस्या देखिँदै आएको थियो । यही कारणले उनको परिवार दोलखाबाट काठमाडौँ आएको थियो ।
२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए ।



