काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन बनेपछि देशको राजनीतिमा नयाँ तरंग आएको छ ।
सत्ता साझेदार दल माओवादी केन्द्रले प्रतिपक्षी दल नेकपा एमालेसँग ‘पिरती गाँसेपछि’ नेपाली कांग्रेस र उसका सभापति शेरबहादुर देउवा तनावमा छन् ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि निरन्तर सत्ताको केन्द्रमा रहेको कांग्रेसलाई यस पटक भने दुई कम्युनिस्ट घटक मिलेपछि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ ।
वाम गठबन्धन बनेपछि दुई कम्युनिस्टका दलका शीर्ष नेता अहिले जुम्ल्याहा दाजुभाइ जस्तै चुनावी अभियानमा होमिएका छन् ।
दुवै नेताको बोली मात्रै होइन, भाषणमा पनि एउटै लय देखिन्छ । यस्तै दृश्य बिहीबार स्याङजा, बागलुङ र पर्वतमा देखियो । चुनावी अभियान लिएर पुगेका दुई नेतालाई त्यहाँका कार्यकर्ताले अझ एउटै मालासमेत पहिर्याए ।
नयाँ ढाका टोपीमा चिटिक्क सजिएका दुवै नेता गलामा गला मिलाउँदै जिल्ला आइपुग्दा उत्साहित बनेका कार्यकर्ताले उनीहरुको स्वागतमा कुनै कन्जुस्याइँ गरेनन् ।











