मोरङको पथरीशनिश्चरेमा निर्वाचनको गतिविधिका क्रममा भेला भएका नेपाली कांग्रेसका युवाहरुबीच झडप भएको छ । झडपमा एकजना सख्त घाइते भएका छन् । घटनामा संलग्न कांग्रेस कार्यकर्ता एवम् पथरीशनिश्चरे १० का वडाध्यक्ष सागर राई सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराती ९ बजेको समयमा पथरी बजारस्थित मितेरी होटलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दै आपसमा कुटाकुट गर्ने क्रममा वडा नम्बर १० का मिलन राई सख्त घाइते भएको इलाका प्रहरी कार्यालय प्रमुख राजन कार्कीले जनाउनु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राईको टाउकामा शिसाको बोतलले प्रहार भएपछि उपचारका लागि न्यूरो अस्पताल विराटनगर पुर्याइएको छ । सो घटनापछि वडाध्यक्ष ४० वर्षीय सागर राईका साथै पथरीशनिश्चरे १ का २६ वर्षीय राजेन्द्र बुढाथोकी, ४० वर्षीय सन्तोष लिम्बू र ३५ वर्षीय भूपेन्द लिम्बूलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो । बोतल प्रहार गर्ने युवा भनें फरार रहेका छन् ।

कांग्रेसका युवा नेता केशव दुलाल सहितको समूहले आवश्यक परेको खण्डमा हाजिर गराउने गरी चारैजनालाई आज विहान प्रहरी थुनाबाट छुटाएर लगेको पथरी प्रहरीले जनाएको छ ।