काठमाडौं । पछिल्लो २ दशकमा नेपाली राजनीतिमा सफल नेताको रुपमा अगाडि देखिएका माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पारिवारिक रुपमा भने अभागी देखिएका छन् । ४ वर्ष नपुग्दै दुई सन्तान गुमाएपछि उनी अभागी पिताको रुपमा चित्रण भएका छन् । शान्ति प्रक्रियामा आएको केही बर्षमै आफ्ना सहकर्मीहरुले साथ छोडेपछि केही कमजोर देखिएपछि उनलाई एक अभागी नेताको रुपमा हेरिन्थ्यो । तर पछिल्लो समय बाम गठबन्धन गरी एमालेसँग पार्टी एकता गर्ने सहमतिसम्म आईपुग्दा उनी राजनीतिक रुपमा पुनः शक्तिशालि देखिए । यससँगै अभागी नेताको छाप मेटाए पनि पारिवाारक रुपमा २ सन्तान गुमाएसँगै उनी अभागी पिताको रुपमा देखिएका छन् ।
उनका एक मात्र छोरा प्रकाशको आइतबार बिहान हृदयघातपछि निधन भएको छ। ३८ वर्षीय दाहाललाई शनिबार राति लाजिम्पाटस्थित निवासमा हृदयघात भएको थियो।
उपचारका लागि नर्भिक अस्पताल ल्याइएका दाहाललाई बिहान मृत घोषणा गरिएको थियो। अस्पतालले प्रकाशलाई आकस्मिक हृदयघात भएको जनाएको छ।
चार वर्षअघि दाहाल दम्पत्तिले जेठी छोरी गुमाएका थिए। स्तन क्यान्सरपीडित ज्ञानु केसीको २०७० चैत १३ गते उपचारका क्रममा निधन भएको थियो। ज्ञानु ४० वर्षकी थिइन् । छलफल बाट सभार



