‘नेपालमा कम्युनिस्ट सरकार बन्ने भयो भनेर दुनियाँभरका प्रतिक्रियावादी आत्तिएका छन्, म सबैले सुन्ने गरी भन्न चाहन्छु, यो देशमा कम्युनिस्ट सरकार बन्यो, बन्यो, कम्युनिस्ट पार्टी आयो, आयो,’ एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो चितवनमा आयोजित जनसभामा गरेको घोषणा हो यो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई जिताउन अपिल गर्दै जनसभामा बोल्न शुरु गर्नुभएका ओलीले थप्नुभयो, ‘सत्तामा बसेर देशमा लुट मच्चाएको कांग्रेसलगायत दुनियाभरका प्रतिक्रियावादीलाई नेपालमा कम्युनिस्ट शासन आउने पिर होला, कोही नअत्तालिनोस्, नेपालमा अब कम्युनिस्ट शासन आयो, आयो ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कम्युनिस्ट शासन स्थापना भएरै छाडने घोषणा गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका केही अन्तराष्ट्रिय शक्तिहरुलाई जवाफ दिँदै ओलीले अव नेपालमा कांग्रेसको युग सकिएको घोषणा गर्दै कम्युनिष्ट शासन स्थापित हुने घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुले एमाले र माओवादीबीचको चुनावी तालमेल र पार्टी एकीकरणपछि अधिनायकवाद आउने प्रचार गरिरहेको बेला ओलीले अव कम्युनिस्ट शासनमा अभ्यस्थ हुन पनि सुझाउनु भयो । कांग्रेसले देशभर अफवाह फैलाएपछि ओलीले प्रचण्ड र माधव नेपाललाई साथ राखेर मंसीरपछि नेपालबाट कांग्रेसको शासन अन्त्य हुने घोषणा गर्नुभएको हो । ओलीले केही दिन अघि नै शेरबहादुर देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्र िहुने घोषणा गर्नुभएको थियो ।
‘कांग्रेसको युग सकियो, शेरबहादुर अन्तिम प्रधानमन्त्री हुन, अव कांग्रेसले देशको प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने समय सकियो,’ ओलीले भनेका थिए । जवाफमा देउवाले आफूलाई जोतिषीले सात पटक प्रधानमन्त्री बन्छ भनेको स्मरण गराउनु भएको थियो । देउवाको सोही भनाईप्रति लक्षित गर्दे ओलीले सहयात्री दल र नेता प्रचण्डकै चुनाव क्षेत्रबाट नेपालमा कम्युनिस्ट शासन आयो आयो भन्ने घोषणा गर्नुभएको हो ।
ओलीले दुईतिहाइ बहुमतसहितको स्थिर सरकार बनाएर सुकुम्बासी समस्या समाधान गर्ने प्रस्ट पारे । ‘पहिला हामीले ०५१ सालमा सुकुम्बासी समस्या समाधान गर्न खोज्यौँ, ६६ हजारलाई धनीपुर्जा बाँड्नेबित्तिकै हाम्रो सरकार बलजफ्ती हटाइयो’, उनले भने, ‘त्यसैकारण हटाउनै नसक्ने गरी दुईतिहाइ बहुमतसहितको सरकार बनाएर सुकुम्बासी समस्या समाधान गर्नेर्छौँ, भाँजो हाल्न खोज्ने तत्वलाई किनाराको साक्षी भएर डिलमा बसेर हेर्न बाध्य पार्नेछौँ ।’ ओलीले अब बन्ने कम्युनिस्ट सरकारले मुलुकलाई समृद्ध बनाई सुखी नेपाली बनाउने वाचा पनि गरे ।
‘वाम एकताका कारण अब मुलुकमा अस्थिर सरकार बन्ने नजिर समाप्त हुन्छ । यो एकताबाट बनेको सरकारले ५ वर्षमा देश बनाउँछ, देशमा विकासको लहर सिर्जना हुन्छ’, ओलीको भनाइ थियो । ओलीले सरकार र प्रधानमन्त्रीप्रति कडा कटाक्ष पनि गरे । देशभरको शान्तिसुरक्षा खस्कनुमा प्रधानमन्त्री नै मुख्य जिम्मेवार रहेको ठोकुवा गर्दै ओलीले सरकार अझै चुनाव सार्ने षड्यन्त्रमा रहेको बताए ।
‘प्रधानमन्त्रीले भएका गृहमन्त्री हटाए, बम पड्किएको पड्किएकै छ, अर्को गृहमन्त्री पनि राख्नुहुन्न, भएकालाई पनि विनाविभागीय बनाउनुभयो’, ओलीले भने । ओलीले आफ्नै पार्टीको नेताको झन्डै ज्यान जाँदासमेत प्रधानमन्त्रीको चेत नखुलेको बताए । ‘बम पड्किएको पड्कियै छ, तर पनि प्रधानमन्त्रीज्यू शान्तिसुरक्षा राम्रो–राम्रो छ भन्नुहुन्छ, उहाँकै नेताको गाडी बम हानेर पल्टाइदिएको छ, के हो यो रु उहाँलाई अलिकति जनताप्रति चिन्ता छैन रु उम्मेदवार नेताहरूप्रति चिन्ता छैन ?’ ओलीले भने ।
सरकार बम विष्फोटलाई आधार बनाएर चुनाव सार्न सकिन्छ कि भन्ने योजनामा लागेको सूचना आफूसम्म आइपुगेको रहस्य पनि ओलीले खोले । ‘शान्ति कायम गर्न नसक्ने अहिले कुनै युद्धकाल होइन, शान्ति कायम गर्न नसक्ने कारण के छ रु कहीँ यस्तै कुरालाई आधार बनाएर चुनाव पर सार्ने योजना त छैन रु त्यस प्रकारका योजना र सोच भए त्यो भ्रम नपाल्नुहोला । अब नेपालमा चुनाव रोकिँदैन, कसैले रोक्न सक्दैन,’ ओलीको भनाई थियो ।



