मंसीर २१ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिदैं जाँदा झापामा चुनावी चहलपहल पनि बढी रहेको छ । उम्मेद्वारहरु मतदातालाई आफु तिर आकर्षित पार्न चुनावी प्रचार अभिायनमा ब्यस्त छन । तर मतदान हुने दिन नजिकिदैं गर्दा बिभिन्न प्रलोभनमा पारेर समेत मत आफु तिर तान्न दलहरु बाकी राख्दैनन भन्ने उदाहरण झापा मेचीनगर–१५ ज्यामिरगढीको सिमान्तकृत पाहान समुदायको बस्तीमा पुगे पछि छर्लङ हुन्छ ।

मेचीनगर नगरपालिका वडा नं. १५ मा बसोबास गर्ने पाहन समूदायले आफ्नो समूदायमा चेतनाको स्तर कमजोर भएकै कारण हरेक चुनावमा आफुहरु ठगिने गरेको झापा टाईम्सका प्रतिनिधिहरुसंगको कुराकानीमा बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उमेरले ३९ वर्ष पुग्नु भएका सन्तोष पाहानलाई लेखपढ गर्न आउँदैन । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन कहिले हुँदैछ भनेर मिति समेत थाहा नभएको बताउने सन्तोष विगतका चुनावमा मासु जिउरा र पैसा दिन दलका उम्मेद्वार र कार्यकर्ताहरु आउने गरेको खुलेर बताउनु हुन्छ ।

सन्तोस मात्रै होईन यहाँको पाहान समूदायमा आसन्न चुनाव बारे कोहि पनि जानकार छैनन् । उनीहरुको आफ्नै भाषा छ । स–साना झुपडी भएको १३ घर मिलेर बनेको बस्ती छ । यो समूदायमा समान्य अक्षर चिन्ने एकजना मात्रै भेटिए । विद्यालय जाने बालबालिका भेट्नै मुस्किल छ । चेतनाको स्तर न्युन भएकै कारण चुनावका बेला यो समूदायलाई प्रलोभनमा पारेर मत तान्न पार्टी र उम्मेदवारलाई सजिलो भएको स्वयम सन्तोष पाहान स्वीकार गर्नु हुन्छ ।

चुनावी प्रचार प्रसारले झापाका गाउँ शहरको माहोल तातिएको छ । तर पाहान बस्तीमा एजेण्डा र नारा लिएर कोही आएका छैनन । आफुहरु सिमान्तकृत भएपनि राज्यले बेवास्ता गरेको र कुनै सेवा सुविधा नपाएको उनीहरुको गुनासो छ । यो समूदायका कसैको पनि जग्गा जमिन छैन ।

उनीहरु सामान्य खेती किसानी, चिया बगानको काम, मेची खोलामा माछा मार्ने र गिटी बालुबा चाल्ने काम गरेर जिविको चलाउँछन् । चुनाव र मतको बारेमा केहि थोरै बुझेका स्थानीय बिलाश पाहान आफुहरुको दुखः बुझ्नेलाई भोट हाल्ने बताउनुहुन्छ । बिलाशका अनुसार चुनाव हुने दिन भन्दा एक दुई दिन अघि पैसा, चामल, मासु र कपडा लिएर दलका कार्यकर्ता गाउँमा आउने गरेका छन ।

हाम्रो गाउँका मान्छेलाई धेरै कुरा थाहा छैन जस्ले मासु चीउरा खुवाउँछ उतै भोट हाल्ने गरेको बिशाल पाहान बताउनु हुन्छ ।  अहिले हुने लागेको चुनावका बारेमा केही पनि कुरा अहिले सम्म थाहा नभएका पाहान समुदाय चुनाव सकिए पछि पनि आफुहरुलाई सम्झीने र आफ्नो दुख बुझिदिने उम्मेद्वारको खोजिमा छन् ।

ज्ञानेन्द्र निरौला/प्रतिक न्यौपाने/रोमन आचार्य (झापाटाइम्स)