दमक । इलामको माङ्सेवुङमा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको नाममा क्याम्पस सञ्चालनमा आएको छ । स्थानीय शैक्षिक अगुवाहरुको सक्रियतामा उच्च शिक्षा अध्ययनका लागि शिक्षा संकायमा चार वर्षे बीएडको पठनपाठन शुरु गरिएको हो ।
आत्मानन्द बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर लिङ्देनका अनुसार त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा यस वर्षदेखि शिक्षा संकायतर्फ सो तहको पठनपाठन शुरु गरिएको हो । कक्षा सञ्चालन स्थानीय भालुटार माध्यमिक विद्यालयमा हुने र पहिलो वर्ष क्याम्पसमा ३ दर्जन विद्यार्थीहरु भर्ना भएका छन् ।
सहायक क्याम्पस प्रमुख आङ्बोहाङ अविरल अबोध अबिरलले तीन वर्ष लामो तयारी पछि औपचारिक रुपमा क्याम्पस सञ्चालन गर्न लागिएको बताए । उनले भने, ‘भौतिक पूर्वाधार अभावजस्ता समस्याहरुसँग जुध्दै उच्च शिक्षा अध्ययन गर्न आफ्नै ठाउँमा शिक्षालय स्थापना गर्न सफल भयौं ।’
क्याम्पसको पठनपाठन विधिवतरुपमा बिहीबारदेखि शुरु गरिएको सहायक क्याम्पस प्रमुख आङ्बोहाङ अबिरलले जानकारी दिए ।
क्याम्पसमा आगामी शैक्षिक वर्षदेखि व्यवस्थापन संकायको बीबीएस तहको पठनपाठन सञ्चालन गरिने पनि जनाइएको छ ।
माङ्सेवुङमा उच्च शिक्षाका लागि क्याम्पस सञ्चालनमा आएपछि त्यस क्षेत्रका विद्यार्थीहरु टाढाटाढा गएर अध्ययन गर्नुपर्ने समस्याबाट मुक्त भएको शिक्षण पेशामा रहेका स्थानीय शक्ति सावाँले बताए ।










