चितवन। पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माडी नगरपालिकालाई चितवन जिल्लाको मणि बनाउने प्रतिवद्दता व्यक्त गरेका छन् ।
सोमबार माडीका विभिन्न वडा र टोलमा आयोजित चुनावी सभा र घरदैलोमा बोल्दै प्रचण्डले माडीलाई चितवनको मणि बनाउने बताएका हुन् ।
चुनावी सभामा प्रचण्डले भने, “म चुनाव जित्नका लागि मात्र चितवन आएको होइन। चितवन देशकै अग्रगामी चेतना भएको जिल्ला हो। म चितवनको जनमतमार्फत् देशको नेतृत्व गर्न चाहन्छु। पश्चिम चितवन र माडी पनि विगतमा आर्थिक विकास र पूर्वाधारमा पर्यो। अब त्यसो हुने छैन। माडीलाई चितवन जिल्लाकै मणि बनाउने संकल्प बोकेर तपाईहरुको बीच आएको छु।”
“रियु खोला लगायतका ठाडा खोलामा तटबन्ध गरिनेछ। माडीको प्रमूख समस्या खोलाहरुबाट हुने नदी कटानको समस्या हो, हामी त्यसको दीर्घकालीन हल गर्नेछौं। माडीका सबै सडकहरुको स्तरोन्नति र मूख्य सडकहरु कालोपत्रे गरिनेछ” प्रचण्डले भने, “कृषि सडकलाई माडीको चक्रपथका रुपमा विकास गरिनेछ। सुकुम्बासी समस्या यहाँको अर्को समस्या हो, मन्त्रिपरिषदको पहिलो बैठकबाटै सुकुम्बासी समस्या समाधानको निर्णय गराउने छु। कम्युनिष्ट सरकार सुकुम्बासी, किसान र मजदुरका समस्या समाधानमा गम्भीर भएर लाग्नेछ।”
उनले केरुङबाट चितवन हुँदै ठोरी पुग्ने सडकलाई पनि व्यवस्थित बनाउने बताए । “केरुङबाट चितवन हुँदै ठोरी पुग्ने सडकलाई व्यवस्थित गरिनेछ, ठोरीलाई व्यापारिक नाकाका रुपमा विकास गरिनेछ, त्यसका लागि मैले कुटनीतिक पहल गरिसकेको छु। माडीलाई धार्मिक पर्यटनका रुपमा विकास गर्न सकिने प्रवल सम्भावना छ” प्रचण्डले भने, “माडी कृषि र पर्यटनका लागि उपर्युक्त ठाउँ हो, त्यसरी नै यस ठाउँको विकास गरिनेछ। जङ्गली जनावरको आतङ्कबाट ग्रसित जनतालाई सुरक्षाको प्रत्याभूति गरिनेछ। फाउण्डेसन सहितको मेस जालीको व्यवस्था गरिनेछ। निकुञ्ज क्षेत्रको सडकलाई आकाशे पुल वा भूमिगत सडकका रुपमा विकसित गरिनेछ।”
“२०४८ मंसिर ११ गते ४ पार्टीको एकता भएर तत्कालीन जनमोर्चा बनेको थियो” प्रचण्डले भने, “२६ वर्षपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर शक्तिशाली कम्युनिष्ट केन्द्र बन्दैछ। यसले नेपालको अस्थिरता र अराजकताको अन्त्य गर्नेछ।” बार्हखरी बाट सभार



