ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार नवराज सिलवालले सरकारमा बस्ने धेरै दिन नभएकाले सत्ता छाड्नका लागि तयार रहन कांग्रेसलाई आग्रह गरेका छन्।

वाम गठबन्धनले आज ललितपुरको लगनखेल बसपार्कमा आयोजना गरेको बृहत् चुनावीसभालाई सम्बोधन गर्दै सिलवालले कांग्रेस फगत लोकतन्त्रको गफ गर्ने पार्टी मात्र भएको बताए। सरकार सञ्चालन गर्न नजानेको आरोप लगाउँदै उनले भने, 'सरकार कसरी चलाउनुपर्छ अब एमालेलाई हेर्नुस् र तपाईंहरु प्रतिपक्षमा बसेर सिक्नुस्।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामान्य नागरिक राज्यबाट उपेक्षामा परेको बताउँदै उनले आर्थिक समृद्धि र विकासको सपना साकार बनाउन वाम गठबन्धनलाई मतदान गर्न पनि उनले आग्रह गरे। केही समयअघि एमालेमा प्रवेश गरेका सिलवाल वाम गठबन्धनको तर्फबाट ललितपुर १ बाट चुनावी प्रतिस्पर्धामा छन्।

क्रान्ति बुलेट र ब्यालेटबाट सम्भव भएको बताउँदै सिलवालले थपे, 'बुलेटको क्रान्ति सकियो अब ब्यालेट क्रान्तिबाट मात्रै परिवर्तन सम्भव छ।'