धनगढी । नेपाली कांग्रेसकी नेतृ तथा कैलाली–५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार डा. आरजु राणा देउवाले कम्युनिष्ट गठबन्धनले कांग्रेसमा लामो समयदेखिको विभाजनको रोग निवारण गर्ने ‘भ्याक्सिन’ को काम गरेको टिप्पणी गरेकी छन् ।

धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीमा बुधबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेतृ राणाले कम्युनिष्ट गठबन्धनकै कारण गुट–उपगटमा बिभाजित कांग्रेस एक ढिक्का भएको बताएकी हुन् । ‘‘एमाले–माओवादीको गठबन्धनले कांग्रेसभित्र लामो समयदेखि रहेको गुटको राजनीति अन्त्य भएको छ’’, उनले भनिन्, ‘‘कम्युनिष्टहरुको गठबन्धनले त हाम्रा लागि रोग निवारण गर्ने भ्याक्सिनको काम गरेको छ ।’’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेतृ राणाले नेकपा एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गर्दै चश्माको साटो दूरविन प्रयोग गर्न आग्रह समेत गरिन् गरेकी छन् । उनले भनिन्, ‘‘ओलीजीले नेपालको संविधान पनि पढिदिनु भए राम्रै हुन्थ्यो । नेपालको संविधानमा कोही पनि नेपाली नागरिक कहीँ पनि जन्मिएर कहींँ पनि उठ्न पाउने प्रावधान छ ।’’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिले कीर्तिपुर, कहिले सिरहा, कहिले चितवनबाट उठिरहेको प्रसंग कोट्याउँदै नेतृ राणाले थपिन्, ‘‘उहाँचाहिँ टुरिस्ट नहुने । महिला भएकाले मलाई हेपेको हो ओलीजी ? महिलालाई हेर्ने तपाईंको दृष्टि नमिलेजस्तो लाग्यो । तपाईंको दृष्टिलाई चश्मा होइन, टेलिस्कोप नै चाहिन्छ ।’’

केही दिन अघि धनगढी र डडेलधुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेतृ राणालाई ‘टुरिस्ट’ उमेदवार र प्रधानमन्त्री शेरबहादुर देउवालाई मुलुकको विकासका लागि सिन्को सम्म नभाँचेको आरोप लगाएका थिए