नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले आफ्नो नाममा स्पष्टिकरण दिन भन्दै पठाएको पत्रको बारेमा ‘किन काटेको थाहा नभएको’ टिप्पणी गरेका छन् ।बुधबार झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘निर्वाचन आयोगले मेरो नाममा चिट काटेको छ रे ! किन काटेको थाहा छैन ।’ओलीले पत्रपत्रिकामा आएको विज्ञापन बारे आफूलाई जानकारी नभएको बताए ।
‘वाम गठबन्धनले देशैभर जित्दैछ भनेर कसैले बधाई दिएको होला’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘यद्यपि, त्यस विषयमा पार्टीले आयोगलाई जवाफ दिइसकेको छ ।’आफू आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति नभएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गर्दै ओलीले भने, ‘म कांग्रेसको अध्यक्ष हुँ र ? आचारसंहिता उल्लङ्घन गर्न ? म त एमाले अध्यक्ष पो हुँ !
अर्को प्रसङ्गमा उनले कांग्रेससँग बोल्ने कुरा केही नभएर आफ्नो क्षेत्रमा आएर वाम गठबन्धनले जिते अधिनायकवाद लादिने बताएको उल्लेख गरे ।देउवाको उक्त अभिव्यक्तिप्रति आलोचना गर्दै ओलीले भने, ‘लोकतन्त्र चाहिँ मासिँदैन । तर, कांग्रेसको शासन चाँहि जरुर मानिन्छ ।’उनले कांग्रेससँग लोकतन्त्रको सीमित परिभाषा भएको बताए । ‘कांग्रेसले आफूलाई नै लोकतन्त्र सम्झिएको छ । उसँग सीमित परिभाषा छ’, ओलीले भने, ‘उसको परिभाषामा कांग्रेस सरकारमा हुँदा मात्र लोकतन्त्र हुन्छ, नत्र हुँदैन ।’’










