झापा (मेचीनगर), १४ मंसिर– झापा मेचीनगर नगरपालिका–१२ फाइटर चोक । नामका आधारमा गरिने कल्पनाभन्दा धेरै सभ्य ठाउँ । मंगलवार (मंसिर १२ गते) । घडिमा विहानको ७ बजेको थियो । बस्तीको बीचमा बिहानै ठूलो आवाजमा कसैको आवाज सुनियो ।

नेपाली कांग्रेस जिन्दावाद..... भोट केमा, रुखमा......

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नारा घन्किन थालेपछि स्थानीयलाई बुझ्न गाह्रो भएन, कांग्रेसका उम्मेदवार भोट माग्न आएका हुन् ।

फाइटर चोकमा सभा शुरु भयो । उद्घोषकको औपचारिक आग्रह पछि मन्तव्य पनि । मन्तव्यको शुरुमै माओवादी अध्यक्ष प्रचण्डको प्रशंसा ! ‘......कमरेड प्रचण्डले शान्ति प्रक्रियामा खेलेको भूमिका अविश्मरणीय छ । हिंसात्मक आन्दोलनको सट्टा शान्तिको बाटो रोज्ने उहाँको निर्णयले देशमा शान्ति आएको छ........’

मानिसहरु छक्क नपर्ने कुरै थिएन, कांग्रेस जिन्दावाद भन्छन्, रुखमा भोट माग्छन् । बुझिनसक्नु छ, प्रचण्डको प्रसंशा पनि गर्छन् !

केही अघिसम्म १५–२० जनाले हाई काडिरहेको चोकमा एकाएक भीड बढ्न थाल्यो । मुखमा ब्रस कोचेका, काँधमा तौलिया र हातमा सावुन बोकेका, स्टीलको लोटा बोकेका, साइकल यात्रीदेखि ट्याक्टरमा सवारसम्म सबै जना चोकमा रोकिए ।

२–४ वटा किराना पसल रहेको फाइटर चोकमा यसअघि सायदै यत्रो भीड जम्मा भएको हुँदो हो । भीडका बीचमा एक व्यक्ति माइक समातेर एकनासले बोल्दै थिए । गलामा सयपत्री फूलको माला लगाएका । नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालेदेखि एमाले नेता माधव नेपालसम्म, उनले सबैको प्रसंशा गरे ।

‘यीनि त विश्वबाबू पो रहेछन्,’ हातमा सावुन र काँधमा तौलिया भिरेर चोकमा पुगेका एक पुरुष बोले ।

‘विश्वबाबू’ अर्थात् विश्वप्रकाश शर्मा । प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाट कांग्रेसका उम्मेदवार । एमाले र माओवादीको वाम गठवन्धन बनेदेखि देशभर कांग्रेस उम्मेदवारले ‘साम्यवाद’को त्रास देखाएर आफूले लोकतन्त्रको रक्षा गर्नेभन्दै मत मागिरहेका छन् । तर विश्वप्रकाश भने आफ्ना सबै भाषणमा कम्युनिस्ट नेताको प्रसंशा गर्न छुटाउँदैनन् ।

उनीसँग पनि वाम गठवन्धनबाट माओवादी नेता राम कार्की (सुरेन्द्रकुमार) चुनावी प्रतिस्पधार्मा छन् । तर उनी राम कार्कीको आलोचना गर्दैनन् । ‘राम दाइ’ भनेर सम्बोधन गर्छन् ।

चुनावी प्रचार थाल्दा राम कार्की र विश्वप्रकाश शर्मा दुवैले एक–अर्काको नराम्रो आलोचना नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । रोचक त के भने दुवै जनाले एउटै ठाउँमा कार्यक्रम गरेर चुनावी प्रचारको थालनी गरेका थिए ।

देशभर प्रतिस्पर्धी उम्मेदवारहरु एक–अर्काविरुद्ध धोच–पेच र गालीगलौचमै उत्रिरहेका बेला झापा–१ का उम्मेदवारले एक–अर्काको प्रसंशा गरेर चुनाव प्रचार गर्नु नौलो हुने नै भयो । यहाँका मतदाता पनि खुसी थिए ‘गाली नगर्ने’ उम्मेदवार पाएर ।

तर चुनावको मिति नजिकिएसँगै झापा–१ मा पनि देशका अन्य निर्वाचन क्षेत्रमा जस्तै घोच–पेच र आलोचना शुरु भइसकेको छ । त्यसको एकपक्षीय रुपमा शुरुवात गरेका छन्, माओवादी उम्मेदवार राम कार्कीले ।

झापा क्षेत्र नम्बर १ को मुख्य समस्या हो, जंगली हात्तीको आक्रमण । सीमावर्ती भारतीय जंगलबाट आउने हात्तीको बथानले किसानको खेती–बाली त नस्ट गर्छ नै घरमा समेत आक्रमण गर्छ । जंगली हात्तीको आक्रमणबाट यहाँ हरेक वर्ष ४–५ जनाको ज्यान गएकै हुन्छ ।

मतदाताहरुको स्वभाविक अपेक्षा हो कि उम्मेदवारहरुले ‘हात्ती समस्या’ समाधानबारे केही बोलून् । केही दिन अगाडि झापाको चन्द्रगढीमा आयोजित कार्यक्रममा वाम गठवन्धनका उम्मेदवार राम कार्कीले पनि हात्ती समस्याबारे बोले । तर जे बोले त्यसले उनको आलोचना मात्रै भइरहेको छ ।

‘चन्द्रगढी क्षेत्रमा हात्तीको आक्रमण बढ्नुमा कांग्रेसका उम्मेदवार विश्वप्रकाश जिम्मेवार छन्,’ चन्द्रगढीको चुनावी सभामा कार्कीले भने, ‘उनले  (विश्वप्रकाशले) बेल्डाँगी क्षेत्रमा हात्ती नियन्त्रणका लागि विद्यूतीय धराप राख्दा त्यहाँ छिर्ने हात्ती यहाँ आएका हुन् ।’

कार्कीको यो अभिव्यक्तिले मतदाताको मन त कुँडियो नै उनीमाथि ‘कुरा नबुझ्ने’ नेताको आरोप समेत लागेको छ । त्यसोत कार्की अचेल प्राय सभामा विपक्षी विरुद्ध आक्रामक बन्नुपर्छ भन्ने ‘धर्म’ निभाइरहेका छन् । झापा–१ मा यसअघि प्रतिस्पर्धी उम्मेदवारबीच सामुहिक छलफल चलाइन्थ्यो । यसपटक पनि केही संस्थाले सामूहिक छलफल आयोजना गरे । तर कार्की भने कार्यक्रममा आउँछु भनेर पनि उपस्थित नभएको आयोजकको भनाइ छ ।

‘मिडियामा सुन्दा त उहाँ राम्रै मान्छे जस्तो लाग्थ्यो,’ झापाको चन्द्रगढीमा पसल चलाउँदै आएका झापा–१ का मतदाता चन्द्र ढकालले भने, ‘तर उहाँले हात्तीपीडितको विषयमा बोलेको कुराले साह्रै मन दुख्यो । उहाँले यस्तो हल्का कुरा गर्नुहुँदैनथ्यो ।’

झापाको चन्द्रगढीमै भेटिएका अर्का मतदाता लोकनाथ उप्रेती पनि राम कार्कीको व्यवहारबाट दुखी देखिए । ‘मित्रतापूर्ण व्यहार देखाएर चुनाव लडौं भन्दै विश्वप्रकाशले गुलावको फूल अगाडि बढाएका थिए । तर राम कार्कीले त्यसमा पत्थर पारिदिए,’ लोकनाथले भने ।

कांग्रेसका उम्मेदवार विश्वप्रकाश भने वाम गठवन्धनका कार्कीले नबुझेर आफ्नो आलोचना गरेको हुनसक्ने बताउँछन् । ‘उहाँसँग काम गर्ने उहाँकै कार्यकर्ताले उहाँलाई मिसगाइड गरेको हुनसक्छ,’ लोकान्तरलाई प्रतिक्रिया दिँदै विश्वप्रकाशले भने, ‘उहाँले आलोचना गरेपनि म उहाँलाई सम्मान नै गर्छु । किनकी उहाँ हाम्रो यो क्षेत्रका लागि पाहुना हो । पाहुनाको सत्कार गर्ने नेपाली परम्परा नै छ ।’ लोकान्तर बाट साभार