नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाडौंका सबै क्षेत्रमा वामगठबन्धनले जित्ने दावी गर्नुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल काठमाडौंको मिडिया डेक्सले बिहीवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा बोल्दै महासचिव पोखरेलले काठमाडौंका सबै क्षेत्रमा जित सुनिश्चित भएको बताउनुभयो ।
वाम गठबन्धनले काठमाडौंका अधिकांश क्षेत्र सहित दुई तिहाई बहुमत ल्याउने दावी गर्दै पहिलो चरणमा भएको निर्वाचनमा पनि अत्यधिक क्षेत्रमा वाम गठबन्धनको जित सुनिश्चित भएको बताउनुभयो । दोस्रो चरणमा पनि धेरै क्षेत्र सुनिश्चित भएको उहाँको भनाई थियो । प्रतिनिधि र प्रदेश सभाको चुनाव ऐतिहासिक भएको भन्दै महासचिव पोखरेलले सबै मतदातालाई सजग भएर मतदान गर्न आग्रह गर्नुभयो ।
निर्वाचनपछि वामगठबन्धनको सरकार बन्ने र त्यसले पाँच वर्षसम्म देशमा आमूल परिवर्तन ल्याउने दाबी गर्दै काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहनुभएका पोखरेलले निर्वाचनपछि बन्ने सरकारले विकास निर्माण, सुशासन, लोककल्याणकारी राज्यको निर्माण गर्ने बताउनुभयो । सविधान र घोषणापत्रका आधारमा सरकार सञ्चालन हुने उहाँको भनाई थियो ।
बाम गठबन्धनबाट हतास मनिस्थितिका कारण कांग्रेसले दुश्प्रचार सुरु गरेको भन्दै पोखरेलले त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो । सरकारले नै योजनाबद्व ढंगले हिंसात्मक गतिविधिलाई प्रश्रय दिएको महासचिव पोखरेलले आरोप लगाउनुभयो । ‘हाम्रो गठबन्धन कसैको विरुद्व होइन, गलत प्रचार गर्नुको कुनै अर्थ छैन’ उहाँले भन्नुभयो । महासचिव पोखरेलले अधिनायकवादको कुरा बेकार भएको भन्दै वामगठबन्धनको सरकारले संविधानले प्रदत्त गरेका ३२ वटा मौलिक हक कडाईका साथ पालन गर्ने बताउनुभयो ।
कांग्रेसकै कार्यकर्ताको घरमा बम भेटिनु गम्भीर कुरा भएको उहाँको भनाई थियो । ‘हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले कुनै प्रक्रिया अघि बढाएको छैन, यसले गम्भीर आशंका पैदा भएको छ’–उहाँले भन्नुभयो । गुल्मीमा कांग्रेस कार्यकर्ताको घरमा भेटिएको बमका सम्बन्धमा नेपाली कांग्रेस तथा सरकारको धारणा सार्वजनिक हुन नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो । ‘कम्युनिस्ट समस्या लिएर आउँदैनन्, समाधान दिन्छन्’–उहाँले भन्नुभयो ।
दोस्रो चरणमा मंसिर २१ गते हुने १ सय २८ क्षेत्र मध्ये १ सय ५ क्षेत्र जित सुनिश्चित भएको महासचिव पोखरेलले बताउनुभयो । पहिलो चरणमा निर्वाचन भएका ३७ स्थान मध्ये ३२ स्थानमा वाम गठबन्धनले जित हासिल गरेको उहाँको दावी छ ।










