नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धामी झाँक्रीलाई देखाएर प्रधानमन्त्री हुने दिन गएको बताएका छन् । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुन्छस् भनेको भनेर दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै ओलीले प्रधानमन्त्री बन्न जनताको मन जित्नु पर्ने बताए ।
झापा क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका ओली आफ्नै चुनावी क्षेत्रअन्तर्गत दमकमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री देउवाप्रति निकै आक्रामक देखिए।
देउवाले सोमबार ओलीकै क्षेत्रमा पर्ने गौरादहमा पुगेर ओलीविरुद्ध चर्को भाषण गरेका थिए। त्यसको ४ दिनपछि ओलीले देउवालाई ‘भुलचुकले भएको प्रधानमन्त्री’ बताए । त्यसो भनिरहँदा उनले कांग्रेस कार्यकताईलाई मन नदुखाउन आग्रह गरेका थिए।
संयुक्त निर्वाचन परिचालन संयोजन समितिले आयोजना गरेको चुनावी सभामा अध्यक्ष ओलीले अब जनताको मन जितेर वामपन्थी गठबन्धनले सरकार चलाउने बताए।
जनतालाई अनेक बहाना देखाएर विभाजित गर्न खोजिएको भन्दै उनले त्यस्ता प्रयास सफल नहुने टिप्पणी गरे। नागरिक विभाजित भएर कुनै पनि देश समृद्ध हुन नसक्ने भएकाले राष्ट्रिय एकता र सद्भाव अभिवृद्धिका लागि आफूहरुले गठबन्धन बनाएको उनको जिकिर छ। तीन दिनदेखि गृह जिल्लाको चुनावी कार्यक्रममा व्यस्त रहेका ओली विभिन्न स्थानमा भएका चुनावी सभामा व्यस्त छन्। छलफल बाट










