विप्लवमाथि आशंका :

पक्राउ पर्ने ९९ प्रतिशत विप्लव कार्यकर्ता : प्रहरी

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुरक्षा निकाय थप आक्रामक

प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभर बम विस्फोटका घटना बढ्दै छन् । शीर्ष नेतालक्षित विस्फोट र आक्रमणका घटना भइरहे पनि सरकार लचिलो देखिएको छ ।

गृहसचिव मोहनकृष्ण सापकोटाले विस्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको बताए । ‘सो पार्टीले चुनाव बिथोल्ने घोषणा गरेको छ र विस्फोटका घटनामा पनि त्यही दल दोषी छ भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने । आफ्नो संलग्नता छैन भनेर विज्ञप्ति ननिकाल्नुले पनि विप्लवको संलग्नता पुष्टि हुने उनले दाबी गरे ।

सचिव सापकोटाले विप्लव नेतृत्वको पार्टीले अन्य समूहलाई पनि परिचालन गरेको दाबी गरे । ‘शुक्रबार धादिङबाट दुई भारतीय नागरिक हतियार र विस्फोटक पदार्थसहित पक्राउ परे, उनीहरूलाई समेत विप्लव समूहले नै प्रयोग गरेको हुन सक्छ,’ उनले भने ।

आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार

गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन सुरक्षाको अनुभवका आधारमा रणनीति परिवर्तन गरेको जनाएको छ । प्रवक्ता नारायणप्रसाद दुवाडीले नयाँ सुरक्षा रणनीति लागू भइसकेकाले निर्वाचनविरुद्धका घटना रोकिने विश्वास व्यक्त गरे । निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिएको र सुरक्षा निकायलाई थप आक्रामक रूपमा प्रस्तुत हुन निर्देशन दिएको गृहसचिव मोहनकृष्ण सापकोटाले बताए । मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गरी विस्फोटका घटना अब पूर्ण रूपमा नियन्त्रणमा आउने जनाएको हो ।

शृंखलाबद्ध विस्फोट रोक्न आयोगको आग्रह

निर्वाचन आयोगले शृंखलाबद्ध बम विस्फोटको घटनालाई प्रमुख चुनौतीका रूपमा लिएको छ । उदयपुरका प्रतिनिधिसभा उम्मेदवार घाइते, दाङमा म्यादी प्रहरीको मृत्यु, राजधानी काठमाडौंमै शृंखलाबद्ध बम विस्फोटपछि आयोगले अलि बढी नै ‘सुरक्षा थ्रेट’ महसुस गरेको हो । दिनहुँ विस्फोटका घटना बढेपछि आयोगले मतदातालाई सुरक्षित रहेको महसुस गराउने गरी सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ ।

विस्फोटका शृंखला

१५ मंसिर : बूढानीलकण्ठस्थित प्रधानमन्त्री शेरबहादुर देउवानिवासको कम्पाउन्डमै बम विस्फोट।

१४ मंसिर : गुल्मी रेसुंगा–८ का वडासदस्य तारा श्रीस ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलो बारुदलगायत अवैध विस्फोटक पदार्थसहित पक्राउ ।

१३ मंसिर : उदयपुरको दनुवारबेसीमा बम विस्फोट, प्रतिनिधिसभा क्षेत्र नम्बर २ का कांग्रेस

उम्मेदवार नारायणबहादुर कार्कीसहित तीन घाइते ।

१२ मंसिर : उदयपुर १ का कांग्रेस उम्मेदवार नारायण खड्का र प्रदेश सभा उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी विस्फोट ।

१२ मंसिर : झापाको चन्द्रगढीमा कांग्रेस नेता कृष्ण सिटौलाको घरमा विस्फोट ।

१२ मंसिर : दाङको तुल्सीपुरमा बम विस्फोट हुँदा म्यादी प्रहरी विनोद चौधरीको मृत्यु । विस्फोटमा सात घाइते ।

२ मंसिर : रौतहटको चन्द्रपुर नगरपालिकामा वाम गठबन्धनको सभामा विस्फोट, आठ घाइते ।

२ मंसिर : तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेलको गाडीमा विस्फोट ।

२ मंसिर : भोजपुरको भिरथाप्लोमा एम्बुसमा परी दुई प्रहरी र एक एमाले कार्यकर्ता घाइते । विस्फोटपछि प्रहरी र अज्ञात समूहबीच गोली हानाहान ।

१ मंसिर : नुवाकोटको काउलेथानामा बम विस्फोट हुँदा पाँच कांग्रेस कार्यकर्ता घाइते । कांग्रेस उम्मेदवार डा. रामशरण महतको गाडी क्षतिग्रस्त ।

३० कात्तिक : रोल्पाको घोडागाउँमा कांग्रेस उम्मेदवारलाई लक्षित गरी सुतली बम प्रहार ।