नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता बिपी कोइरालाको असली चेला आफूहरु भएको बताएका छन् ।
आइतबार विराटनगरमा आयोजित कार्यक्रममा ओलीले कांग्रेसको माथिल्लो ओहोदामा बिपीका असली चेला नभएर अलोकतान्त्रिक चरित्र भएकाहरुको हालीमुहाली भएको बताउँदै ओलीले त्यसको नेतृत्व र विचार आफूले बोकेको दाबी गरे ।
‘बिपीले भनेको समाजवाद भन्यो भने झसंग हुन्छन्, बिपीले भनेको राष्ट्रवाद भन्यो भने खोक्रो भन्छन्,’ ओलीले भने, ‘असली चेला हामी भएका छौँ बिपीका चेला कांग्रेसमा छैनन् ।’
बहुराष्ट्र भन्नेहरु देशद्रोही हुन् ओलीले नेपाललाई बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी नै देशद्रोही भएको बताएका छन् ।
अर्को प्रसंगमा भारत तर्फ इसारा गर्दै ओलीले नेपालको आन्तरिक मामलामा हात हालेर विथोल्न खोज्नेका दिन अब सकिएको बताए । विदेशीले हात हालेकै कारण आफू सरकारबाट बाहिरिनुपरेको बताउँदै उनले अब बन्ने सरकार दुई तिहाई मतसहितको हुने भएका कारण पुनः हात हाल्न खोजे आफूहरुलाई असह्य हुने चेतावनी दिए ।
‘अब आन्तरिक मामलामा कसैले हात घुसारेर खेल्न नखोजे हुन्छ,’ ओलीले भने, ‘वाम पन्थीको दुई तिहाइ आएपछि हात घुसारे भने पोल्नेछ ।’
‘वाम गठबन्धनले दुई तिहाई ल्याउन जरुरी छ । रहर र लहडका लागि होइन देश बनाउनका लागि हो’, ओलीले भने, ‘बाँडीचुँडी खानेहरुले बनाएको अलोकतान्त्रिक गठबन्धनलाई पराजित गर्नुपर्छ ।’
कांगेस लगायतले लोकतान्त्रिकको नाममा अलोकतान्त्रिक गतिविधि गरिरहेको ओलीको आरोप थियो ।









