दमक/मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि झापाबाट प्रमुख पार्टीका हेभीवेट नेता यति बेला चुनावी मैदानमा छन् ।

झापाका ५ वटा चुनावी क्षेत्रबाट एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, युवा नेता विश्वप्रकास शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेन, पूर्व सञ्चारमन्त्री एवं माओवादी नेता सुरेन्द्रकुमार कार्की लगायतका नेता चुनावी मैदानमा छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापामा सबैभन्दा बढि क्षेत्र नम्वर ३ र १ को चर्चा हुनेगरेको छ । ओलीको क्षेत्रमा भने प्रतिष्पर्धी कमजोर भएका कारण त्यहा चुनावी परिणाम सोचे अनुरुपकै आउने लगभग पक्कापक्की भएको स्थानीय विश्लेष्क बताउछन् । ३ मा भने काग्रेसका नेता सिटौला र राप्रपाका लिङदेन चुनावी मैदानमा छन् ।

लिङदेनलाई बाम गठबन्धनको समर्थन रहेका कारण यहाको माहौल निक्कै गरम र रोचक चुनावी प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । यस्तै एकमा भने दुई बौद्धिक नेताविच प्रतिष्पर्धा छ । बाम गठबन्धनबाट कार्की र काग्रेसबाट शर्मा यहा उठेका छन् ।

झापामा बाम गठबन्धनलाई राप्रपाको समर्थन रहेका कारण काग्रेसका नेताहरु अप्ठेरोमा रहेका छन् । झापामा कुल ५ लाख ८५ हजार २ सय २८ मतदाता छन् । झापामा ५ निर्वाचन क्षेत्रमा स्थानीय तहको निर्वाचनमा प्रमुख तथा वडा अध्यक्षहरुले पाएको मतका आधारमा हामीले ती क्षेत्रमा दलहरुको अवस्थाको आंकलन गरेका छौँ ।

झापा क्षेत्र नं १

झापा क्षेत्र नं १ मा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाका वडा नं ९ र १०, बुद्धशान्ति गाँउपालिकाका वडा नं ४, ५, ६ र ७ पर्दछन् । क्षेत्र नं १ मा १ लाख ९ हजार ६ सय ७६ मतदाता छन् ।

यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा प्रमुख तथा वडा अध्यक्षहरुले मतका आधारमा नेपाली कांग्रेसको २५ हजार ५ सय १ मत देखिन्छ भने एमालेको २५ हजार ६३ मत छ । यस्तै माओवादी केन्द्रले ९ हजार ८ सय ८८ मत र राप्रपाको १ हजार ३ सय ३३ र संघीय समाजवादी फोरमले ४ सय ७० मत छ ।

यस आधारमा यहाँ एमाले माओवादी बाम गठबन्धन र राप्रपाको ३६ हजार २ सय ८४ मत हुन आँउछ । जुन मत नेपाली कांग्रेसले पाएको मत भन्दा १० हजार ७ सय ८३ बढी हो ।

झापा क्षेत्र नं २

झापा क्षेत्र नं २ मा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ६, ७, ८, र ९ पर्दछन् । यस्तै बुद्धशान्ति गाँउपालिका वडा नं १, २, र ३ पर्दछन भने कन्काई नगरपालिकाका वडा नं ८ र ९ पर्दछन् ।

क्षेत्र नं २ मा १ लाख १४ हजार ३ मतदाता रहेका छन् । स्थानीय तहमा यो क्षेत्रमा नेपाली कांग्रेसको २२ हजार ५ सय ८५ मत देखिन्छ भने एमालेको २८ हजार ७ सय २४, माओवादी केन्द्रको ७ हजार ५ सय ३, राप्रपाको ४ हजार ९ सय ४० मत देखिन्छ । यस्तै फोरम लोकतान्त्रिकको ५० र संघीय समाजवादी फोरमको ४ सय ३१ मत छ ।

यहाँ बाम गठबन्धन र राप्रपाको मत एकैठाँउमा मिसाँउदा ४१ हजार १ सय ६७ हुन्छ जुन नेपाली कांग्रेसको मत भन्दा १८ हजार ५ सय ८२ मत बढी हो । प्रत्यक्ष तर्फको निर्वाचनमा नेपाली कांग्रेस भारी मतले पछाडि परेको देखिन्छ ।

झापा क्षेत्र नं ३

झापा क्षेत्र नं ३ अन्र्तगत बाह्रदशी गाँउपालिका, हल्दीबारी गाँउपालिका, कचनकवल गाँउपालिका, भद्रपुर नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ६, ७ र ८ वडा र बिर्तामोड नगरपालिकाको वडा नं ८ पर्दछ ।

यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा झापा ३ मा नेपाली कांग्रेसले २० हजार ५ सय ४५, नेकपा एमालेले १९ हजार ८ सय ८०, माओवादी केन्द्रले ९ हजार ५ सय ८८, राप्रपाले १४ हजार १ सय ५, फोरम लोकतान्त्रिकले २ सय ५ र संघीय समाजवादी फोरमले ७ सय ८६ मत पाएको थियो ।

यस आधारमा यहाँ बाम गठबन्धन सहित राप्रपाको मत मिसाँउदा ४३ हजार ५ सय ७३ हुन्छ । जुन नेपाली कांग्रेसले पाएको मत भन्दा २३ हजार २८ मत बढी हो । यहाँ नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला र राप्रपाका नेता राजेन्द्र लिङ्देन बिच प्रतिष्पर्धा हुने भएको छ । झापामा कांग्रेससँगको गठबन्धन तोड्दै राप्रपाले एमालेसँग तालमेल गरेको छ । यो क्षेत्रमा बाम गठबन्धनको सहयोगमा राप्रपाका लिङ्देनले जित हात पार्ने देखिएको हो ।

झापा क्षेत्र नं ४

झापा क्षेत्र नं ४ मा झापा गाँउपालिका, गौरादह नगरपालिका वडा नं ९, गौरीगञ्ज नगरपालिका वडा नं १ र २, कन्काई नगरपालिका वडा नं १, २, ३, ४, ५, ६, ७ र शिवशताक्षी नगरपालिका पर्दछन् ।

यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख ९ हजार ४ सय १ मतदाता रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नं ४ मा मोटामोटी रुपमा नेपाली कांग्रेसको २२ हजार ९ सय २९, एमालेको २६ हजार ४ सय १४, माओवादी केन्द्रको ९ हजार ६ सय ९९, राप्रपाको १९ सय ४२, फोरम लोकतान्त्रिकको ६ सय ३९ र संघीय समाजवादी फोरमको १ सय २९ मत रहेको छ । यसआधारमा यहाँ बाम गठबन्धन सहित राप्रपाको मत जोड्दा ३८ हजार ५५ हुन्छ ।

नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २३ हजार ५ सय ६८ हुन्छ । अर्थात यहाँ बाम गठबन्धनको पक्षमा नेपाली कांग्रेसको भन्दा १४ हजार ४ सय ८७ मत बढी देखिन्छ ।

झापा क्षेत्र नं ५

झापा क्षेत्र नं ५ मा गौरीगंज गाँउपालिकाका वडा नं ३, ४, ५ र ६, गौरादह नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ६, ७ र ८, दमक नगरपालिका र कमल नगरपालिका पर्दछन् ।

यो निर्वाचन क्षेत्रमा १ लाख ३७ हजार ५ सय ६२ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले पहिलो दल बनेको थियो । मोटामोटी रुपमा नेपाली कांग्रेसको २३ हजार २ सय ५०, नेकपा एमालेको २९ हजार ४ सय ६०, माओवादी केन्द्रको १३ हजार ५ सय ८३, राप्रपाको १० हजार २ सय २२, फोरम लोकतान्त्रिकको ११ सय ९४ र संघीय समाजवादी फोरम लोकतान्त्रिकको १ हजार ३४ मत रहेको छ ।

यसआधारमा यहाँ बाम गठबन्धन सहित राप्रपाको मत जोड्दा कूल ५३ हजार २ सय ६८ हुन्छ । यस्तै नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २४ हजार ४ सय ४४ हुन्छ । अर्थात यहाँ बाम गठबन्धनको नेपाली कांग्रेसको भन्दा २८ हजार ८ सय २४ मत धेरै रहेको छ ।