सङ्घीय समाजवादी फोरम, नेपाल झापा निर्वाचन क्षेत्र नम्बर ५ ले आफ्नो अन्तिम चुनावीसभा सम्पन्न गरेको छ । अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै ससफो नेपाल लिम्बुवान प्रदेश इन्चार्ज एवम् राजनीतिक समिति सदस्य आर सी तुम्बाले भने -'कांग्रेस, एमाले, माओवादी यो देशका आदिवासी जनजातिको भाषा, संस्कृति, ईतिहास, थातथलो र अधिकार विरोधी पार्टी हुन् ।

यो देशमा बैज्ञानिक र ब्यवहारिक भूमिसुधार गरेर मुलुकको विकास गर्ने सच्चा पार्टी सङ्घीय समाजवादी फोरम, नेपाल हो ।' देशमा रास्टृय पूँजी निर्माण नभएसम्म मुलुकको विकास सम्भव नरहेको भन्दै तुम्बाले मधेसमा ससफोले बहुमत ल्याएपछि तिल्मिलाएर एमाले र माओवादीले बाम एकता गरेको आरोप लगाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टीका लिम्बुवान समिति अध्यक्ष एवम् राजनीतिक समिती सदस्य खगेन्द्र माखिमले भने -'एमाले, कांग्रेस र माओवादीले नेपालको नाम परिवर्तन गर्न सक्छौ होला, तर आदिवासी रंगाशालाको नाम फेरेर देखाउ त ! हामी केपी ओलीको घरमा बम पड्काइदिन्छौं । त्यसको नेतृत्व सङ्घीय समाजवादी फोरम नेपालले गर्छ ।'

माखिमले ससफो नेपाल अब देशभरका सबै नेपालीको पार्टी बन्ने जिकिर गर्दै अहिलेको राजनीतिक र विकासको बादक केपी ओली रहेको आरोप लगाए । पार्टीका राजनीतिक समिति सदस्य एवम् झापा क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन समिति संयोजक प्रवीण चाम्लिङले दमक र समग्र क्षेत्रको विकासका लागि सङ्घीय समाजवादी फोरम नै विकल्प रहेको भन्दै २८ वर्ष लामो राप्रपाको राजनीति छाडेर आफू यस पार्टीमा जुटेको बताए ।

केन्द्रीय सदस्य लोकसागर साम्बाले १५ रूपैयाँ मूल्यको चामल, दाल, चिनीको भाउ ५०, ८० र ९० रूपैयाँ पुर्याउने केपी ओली, देउवा र प्रचन्डहरुका कारण नेपाली जनता गरिब बनेका भन्दै अब यस्ता लुटेराहरुबाट देश र जनतालाई मुक्ति दिन सङ्घीय समाजवादी फोरम, नेपाल अगाडि आएको स्पस्ट पारे ।

पार्टीका लिम्बुवान प्रदेश सचिवालय सदस्य कमन देवानले पटक पटक कालू भएर देश र जनतालाई झुक्याउनेहरु अब राजनीतिक रूपले परास्त हुने दावी गरे । प्रदेश सभा प्रत्यक्ष उम्मेद्वार सुशीलकुमार राईले भने -'२७ वर्षसम्म हात बाँधेर दमकको विकास गर्न नसक्नेहरु फेरि जनता ढाँट्न आएका छन् । यिनीहरुलाई अब जनताले धपाउनुपर्छ ।सभामा प्रदेश सभा समानुपातिक उम्मेद्वार हरिदेवी राई, वैकल्पिक केन्द्रीय सदस्य गजेन्द्र लावती, प्रदेश सदस्य प्रकाश सुवेदी लगायतले बोलेका थिए ।

ससफो दमक नगर समिति अध्यक्ष बासुदेव राईको अध्यक्षतामा सम्पन्न सभामा खेम दहालको सन्चालन रहेको थियो भने स्वागत प्रतिनिधिसभा समानुपातिक उम्मेद्वार ओममाया आङ्देम्बेले गरेकी थिइन् । कार्यक्रमका बीच कलाकारहरुले सांकृतिक नृत्य र गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।