रमेश लम्साल/कृष्णराज गौतम काठमाडौं । ‘हजुरबाले सोध्लान् वृद्धभत्ता के होला ? हजुरआमाले सोध्लिन् वृद्धभत्ता के होला ? पाँच हजार हुन्छ रे भन्दिए, वृद्धभत्ता बढ्छ रे भन्दिए... हे बरै’

गायक झलकमान गन्र्धवको गीतको भाकालाई गायक झंकार बुढा मगरले आफ्नै शैलीमा प्रस्तुत गरेपछि उपस्थित कीर्तिपुरवासीले ताली बजाएर ‘वान्स मोर, वान्स मोर’ भन्न थाले । चुनावी सभामा नेता र उम्मेदवारका भाषण त सँधै सुनिएकै हो तर यस्ता सांस्कृतिक प्रस्तुतिले दर्शक र समर्थकको ध्यान खिचेको पाइन्छ ।

काठमाडौँ क्षेत्र नं १० मा आज वाम गठबन्धनले आयोजना गरेको अन्तिम चुनावीसभामा गायक मगरले त्यति मात्रै प्रस्तुत गरेनन् गन्र्धवको गीतलाई चुनावी लयमा प्रस्तुत गरे । उनले सामाजिक न्याय र आर्थिक समृद्धिका लागि वाम गठबन्धनलाई विजयी गराउन गीतमार्फत आग्रह गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मौन अवधि शुरु हुनुभन्दा केही समय अगाडि कीर्तिपुरमा आयोजना गरेको जनसभामा उम्मेदवारलेभन्दा कलाकारले नै बुझ्ने गरी वाम गठबन्धनको पक्षमा मत मागेको पाइयो ।

उम्मेदवारले राजनीतिक र कलाकारले कलात्मक शैलीमा मत मागेको पाइयो । सभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुले आर्थिक समृद्धि, राजनीतिक स्थायित्वका लागि वाम गठबन्धनको सरकार जरुरी रहेको धारणा राखेका थिए ।

एमालेका तर्फबाट समानुपातिक उम्मेदवार सुरेन्द्र मानन्धरले कवितात्मक शैलीमा मतदाताको मन जित्ने प्रयास गरे । उनले कवितात्मक शैलीमा भने,

‘देशभक्ति देखाउन देशको कुरा गरौँ बिरामी छ देश निदानका कुरा गरौँ’ 

उनले बिरामी देशको निदानका लागि विज्ञता प्राप्त गरेका चिकित्सक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए । उनले आगामी १० दिनमा देश नयाँ युगमा प्रवेश गर्ने भन्दै एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका मान्नधरले थप्नुभयो, “कुनै द्विविधा राख्नु जरुरी छैन । वाम एकतालाई कोही कसैले रोक्न सक्दैन ।”

कानूनी अड्चनका कारण यसपटकको निर्वाचनमा एमाले र माओवादीको एउटै चुनावी चिह्न बनाउन नसकेको भन्दै उम्मेदवारले आगामी दिनमा त्यस्तो अवस्था नरहने बताएका थिए ।

राजनीतिक स्थिरता, समृद्धि, सुशासनको मुद्दा लिएर वाम गठबन्धन चुनावी मैदानमा आएको भन्दै प्रतिनिधिसभा क्षेत्र नं १० का उम्मेदवार हितमान शाक्यले आफूहरुको विजयलाई कोही कसैले पनि रोक्न नसक्ने बताए ।

विगतमा नेपाली कांग्रेसले पटकपटक बहुमतको सरकार गठन गर्ने मौका पाए पनि नेपाली जनताको पक्षमा काम गर्न नसकेको भन्दै यसपटक वामपन्थी शक्तिको बहुमतको सरकार जरुरी रहेको उल्लेख गरे ।

विगतमा कम्युनिष्ट शक्ति विभाजित भएका कारण कांग्रेसले पटकपटक सरकार चलाउने मौका पाएको भन्दै उनले संविधान कार्यान्वयन, राजनीतिक स्थिरताका लागि वाम एकता जरुरी रहेको र नेपाली जनताले विजयी गराउने धारणा राखे ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य डा विजय पौडेलले वाम गठबन्धनको सरकार बनेपछि आर्थिक समृद्धिको युग शुरु हुने, बेरोजगारीको अन्त्य हुने र शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति गर्ने विश्वास दिलाए । रासस