नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा लाने निर्वाचनमा नेपाली जनताले पहिलो पटक भाग लिएको बताउनुभएको छ ।
झापा क्षेत्र नम्बर १ अन्र्तगत कलवलगुडी आधारभूत विद्यालयमा आज बिहान मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेता सिटौलाले संविधान कार्यान्वयनसँगै मुलुक समृद्धिको मार्गमा अघि बढ्ने यो महत्वपूर्ण र ऐतिहासिक निर्वाचन रहेकाे भन्दै निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरू असफल बनेकाे बताउनु भयाे ।
उहाँले यो निर्वाचन जनता मालिक हुने निर्वाचन भएको बताउँदै अब संघीयता, बहुलवाद र गणतन्त्र संस्थागत हुने विश्वास व्यक्त गर्नुभयो ।
निर्वाचनपछि परिवर्तन विरोधीहरू आफैँ पाखा लाग्ने बताउँदै नेता सिटौलाले गणतन्त्र कार्यान्वयन हुने निश्चित भएको विचार व्यक्त गर्नुभयो










