पहिलो चरणअन्तर्गत मंसिर १० गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना बिहीवार साँझदेखि शुरु भएको छ । जारी मतगणनाको मतपरिणाम पनि आउन शुरु भइसकेको छ ।
जारी मतगणनाको पछिल्लो परिणामअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा गरी एमाले–माओवादीको वाम गठवन्धन ५ ठाउँमा विजयी भएको छ । नेपाली कांग्रेसले प्रदेशसभामा जीतको खाता खोल्दा स्वतन्त्र उम्मेदवार पनि एक ठाउँमा विजयी भएका छन् ।
प्रतिनिधिसभा तर्फ मुस्ताङबाट एमालेका प्रेमप्रसाद तुलाचनले जीतको खाता खोले तुलाचन ३५४४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याए ।
यस्तै पूर्वी रुकुमबाट माओवादीकी कमला रोकाले जीतको खाता खोलिन् । उनले १० हजार ४३४ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिसंकर घर्तीले ४४०६ मत ल्याए । नयाँ शक्तिका उम्मेदवारले १४८९ मत ल्याए ।
प्रतिनिधिसभातर्फ नै एमालेले दोस्रो जीत दर्ता गरेको छ ।
मनाङबाट नेकपा एमालेका उम्मेदवार पाल्देन छेपाङ गुरुङ २३०० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २०२१ मत ल्याए ।
प्रदेशसभातर्फ नेकपा एमालेले मुस्ताङबाट खाता खोल्यो । मुस्ताङ प्रदेश सभा (ख) बाट एमालेका इन्द्रधारा विष्ट विजयी भए । उनले १ हजार १ सय ६७ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका मिङमार गुरुङले ६५७ भोट पाए ।
मुस्ताङको प्रदेश (क)मा पनि नेकपा एमालेकै महेन्द्रबहादुर थकाली २५८४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस मिक्यु गुरुङले २२५९ मत पाए ।
कांग्रेसले प्रदेशमा खाता खोल्यो
नेपाली कांग्रेसले पनि जीतको खाता खोलेको छ । कांग्रेसका उम्मेदवार मनाङको प्रदेशसभा (क) निर्वाचन क्षेत्रमा विजयी भएका हुन् ।
मनाङको प्रदेशसभातर्फ (क) मा कांग्रेस उम्मेदवार चिन्तबहादुर घले ९९८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाए ।
दिपक मनाङे पनि विजयी
मनाङको प्रदेशसभा (ख) मा भने स्वतन्त्र उम्मेदवार दिपक मनाङे उर्फ राजिव गुरुङ विजयी भएका छन् । गुरुङले १४१० मत ल्याउदा उनका प्रतिद्धन्दी कांग्रेसका कर्म गुरुङले १०२० मत पाएका छन् ।
गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा थुप्रैपटक प्रहरीले पक्राउ परेका उनी प्रदेशसभामा विजयी भएका हुन् ।










