भट्टीबाट भोटको विषयमा सुरु भएको विवाद घर सम्म पुग्दा झडपमा परिणत हुँदा एक जनाको मृत्यु भएको छ । मतगणनास्थलमा आएका दुवै समूहका ४/५ जना कार्यकर्ताहरु कटहरिया बजारस्थित एक मदिरा भट्टीमा साझको खाजा खान पुगेका थिए ।
खाजा खाने क्रममा भोटको विषयलाई लिएर मृतक ५० वर्षिय रामपुकार राय यादव र काग्रेंसका कार्यकर्ता बैजु साहबीच वादविवाद भएको प्रत्यक्षदर्शीले बताए । वडाध्यक्षमा काग्रसबाट उम्मेदवारी दिएका छिमेकी गौरीशंकर यादवलाई भोट नदिएको आरोप बैजुले रामपुकार माथी लगाए पछि मृतक रामपुकारले त्यसको शब्दले नै प्रतिवाद गरेका थिए । ‘तपाईले राजपालाई भोट दिनु भएको छ, कांग्रेसलाई दिनु भएको छैन,’ बैजुले आरोप लगाउदै ‘जितेपछि देखाउ छौं’ भनी धम्कयाए पछि दुवै जनाबीच चर्काचर्की सुरु भएको थियो ।
दुवै जनाले भोटको विषयमा किचलो गरेपछि खाजा पसल संचालकले उनीहरुलाई बाहिर गएर कुरा गर्नु भन्दै पठाएका थिए । किचलो बढ्दै गएर घर सम्म पुग्दा भनाभन चरम विन्दुमा पुगेको थियो ।
कटहरिया ८ बलुवा स्थित घर सम्म पुग्दा बैजु र रामपुकारबीच हाताबाही सुरु भएको थियो । हाताबाहीले झडपको रुप लियो । त्यही क्रममा बैजु सहितका समूहले रामपुकार माथी लाठी प्रहार गरेको थियो । रामपुकारलाई जोगाउन पुगेका उनका आफन्त मदन राय यादव, प्रमोद राय यादव, दिलिप यादव समेतलाई पनि अन्धाधुन्द लाठीले कुटेर घाइते बनाए ।
झडपको क्रममा लाठी प्रहाबाट टाउकोमा गम्भिर चोट लागेका रामपुकारलाई उपचारको लागी आफन्तले कटहरिया स्थित क्लिनिकमा पुर्याएका थिए । त्यही उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी अधिकारीले बताए ।
रामपुकार राजपाको कार्यकर्ता नभई विशुद्ध मतदाता मात्र रहेको नाम नछाप्ने शर्तमा एक सुरक्षाधिकारीले बताए । ‘मरेपछि राजनितिक रंग दिईएको हो,’ उनले भने, ‘मृतक रामपुकार पनि पुराना कांग्रेसी मतदाता हुन ।’ घटनापछि गाउमा अहिले खैलाबैला मचिएको छ । घटनापछि कांग्रेसका वडाध्यक्षका उम्मेदवार गौरीशंकर यादव फरार रहेका छन ।
घटनामा संलग्न रहेको भन्दै प्रहरीले गौरीशंकरका छोरा भुट्टा यादव, अनुठा यादव र बैजु साह कलवारलाई अनुसन्धानको लागी पक्राउ गरेको छ । गाउमा अहिले राजपा र कांग्रस पक्षका नेता कार्यकर्ताबीच किचलो बढेको स्थानियले बताए ।
घटनामा संलग्न रहेका मध्ये ३ जनालाई पक्राउ गरिएको छ र फरार रहेकाको खोजी कार्य भईरहेको रौतहटका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले बताए ।
‘झडप अघि सबै मतगणना स्थलमा आएका थिए,’ उनले भने, ‘यहाबाट वादविवाद गर्दै उनीहरु फर्के पछि गाउमा मारपीट गरेका हुन ।’ घटनामा संलग्न पक्राउ परेकाहरुबाट सोधपुछ सुरु गरेका छौं र घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनले बताए ।
राजनितिक विषमा उनीहरुबीच वादविाद भएको र गाउमा पहिला देखी नै उनीहरुबीच मनमुटाव रहेको बुझिएको उनले बताए ।
‘घटना किन र कसरी भएको हो अनुसन्धान पछि साझ सम्म तथ्यगत पुष्टयाई गर्न सकिन्छ । अहिले गर्न मिल्दैन,’ उनले भने । मृतकको शव परिक्षणको लागी गौर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
मदिरा बिक्री वितरण छ्यापछ्याप्ती
जिल्लाको मुख्य शहर चन्द्रनिगाहपुर, गरुडा, सदरमुकाम गौर लगायत जिल्लाको ग्रामिण भेगमा रहेका बजारमा खुलेयाम छ्यापछ्याप्ती मदिरा विक्री वितरण हुने गरेको छ । विभिन्न दलका कार्यकर्ता दिउसै मदिरा सेवन गर्ने गरेको पाईएको छ ।
जिल्लाका १८ वटै स्थानिय तहमा जारी रहेको मतगणना स्थल बाहिर मतदाता तथा कार्यकर्ताको ठुलो भीड लाग्ने गरेको छ । उनीहरु दिनभरी आ आफ्नो पक्षको समर्थनमा नारावाजी तथा हो हल्ला गर्ने र साझ पर्ने बित्तिकै मदिरा भट्टीमा प्रवेश गर्छन । मदिरा भट्टीमा, चियापसलमा अहिले चुनावी वादविाद चल्ने गरेको पाईन्छ ।
मदिरा सेवन गरी नशामा चुर रहेका कार्यकर्ताले चर्का वादविवाद गर्दा हल्का फुल्का झगडा हुने गरेको स्थानियले बताए । ‘मदिरा सेवन गरेपछि मानिस उग्र हुन्छन,’ एक जानकारले भने, ‘त्यसलाई साम्य पार्ने व्यक्ती नहुँदा झगडा हुन्छ ।’ त्यसैले कम्तीमा मतगणना अवधीभर भएपछि मदिरा विक्री वितरणमा कडाईका साथ रोक लगाउनु पर्ने सरोकारवालाको भनाई छ ।










