बिष्णुप्रसाद पोखरेल
दमक/झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका माओवादी उम्मेदवार सुरेन्द्र कार्कीलाई कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले बधाई दिएका छन्। कार्की बिजय भए लगत्तै शर्माले कार्कीलाइ भेटेर नै बधाइ दिएकाहुन् ।
दुबै जनाले एकअर्कालाइ आपेक्ष नलगाइ निर्वाचन लड्ने र जसले जितेपनि खुसिका साथ बधाइ दिने भन्दै सार्वजनिक रुपमा नै मत माग्ने क्रममा प्रतिबद्धता समेत जनाएका थिए ।
शर्माले दोश्रो संबिधानसभा निर्वाचनमा एमाले नेता रबिन कोइरालालाइ पनि यसरी नै बधाइ दिएका थिए । कोइरालासंग शर्मा पराजित बनेका थिए । यो पटक उनि जित निकाल्ने दाउमा रहेपनि सफल हुन सकेनन् ।
प्रष्ट बक्ता र बैचारिक रुपमा अब्बल मानिने शर्मा पनि हारेपछि काँग्रेसका युवाहरुमा धेरै निराशा देखिएको छ । सामाजिक सञ्जालमा शर्माको पक्षमा लेख्दै आएका युवाहरुले निरासा पोखेका हुन् ।
बाम गठबन्धनका कारण शर्मा हार खाएका हुन् । यहाँ गठबन्धन निक्कै बलियो रहेको थियो । शर्मा प्रभावशाली युवा हुन् । कार्की राजनीतिमा इतिहास बोकेका र पठनशील नेताको रुपमा चिनिदै आएकाछन् ।
दुबै जना प्रभावशाली भएकाले पनि यहाँ गठबन्धनका कारण कार्कीले सहज जित निकालेको बताइन्छ । कार्की मन्त्री समेत भइसकेकाले राष्ट्रिय छबि समेत उनको रहेको थियो ।
को हुन विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा को जन्म २०२७ साल पुस ६ गते झापाको शान्तिनगरमा भएको हो । शर्मा २०७० सालको संविधानसभा चुनावमा झापा १ बाटै नेकपा एमालेका रविन कोइरालासँग पराजित हुनु भएको थियो । उहाँको बुबाको नाम परशुराम भण्डारी र आमाको नाम सावित्रा शर्मा भण्डारी हो । उहाँका १ छोरा १ छोरी छन् । शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर पास गर्नुभएको छ ।
२०४० सालमा ८ कक्षामा पढ्दा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापति भएका शर्मा २०४१ सालमा ९ कक्षामा पढ्दा ९ महिना हिरासतमा बस्नु भएको थियो । २०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका विश्वप्रकाश त्यसको १० वर्षपछि २०५७ सालमा नेविसंघको केन्द्रीय सभापति हुनुभएको थियो ।
२०५८ सालमा पहिलो पटक नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका शर्मा २०७२ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।



