चुनावी नतिजा वाम गठबन्धनको पक्षमा देखिइरहँदा नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनताका विकास र समृद्धिको चाहना पूरा हुने बताएका छन्।
भक्तपुरमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले वाम गठबन्धनको पक्षमा जनताले विश्वासका साथ दिएको मतलाई निराश नबनाउने बताए।
‘जुन विश्वासका साथ आम जनताले वाम गठबन्धनलाई साथ र समर्थन गर्नुभएको छ, हामीले निराश हुनुपर्ने छैन’, उनले भने।
प्रादेशिक संरचनाको अभ्यास मुलुकले पहिलो पटक गर्न लागेको उल्लेख गर्दै अध्यक्ष ओलीले निकै चुनौतीपूर्ण अवस्थामा मुलुकको नेतृत्व गर्न लागिएको बताए।
मुलुकलाई केही वर्षभित्र तीव्र आर्थिक विकासको नमुनाको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै ओलीले नीति तथा कार्यक्रममार्फत अग्रगामी ढंगले अगाडि जानुपर्ने उल्लेख गरे।
‘मुलुकको अगुवाई गर्नुपर्छ, सम्पूर्ण देशवासीलाई गोलबद्ध गर्नुपर्छ', उनले भने, 'केन्द्रमा दुई तिहाई नजिकको सरकार हुन्छ। जनताको समृद्धिको चाहनालाई अबको सरकारले सम्बोधन गर्नेछ।’










