बर्दिया-१ को पछिल्लो परिणामले नेकपा एमालेलाई उत्साहित बनाएको छ । मत गणनाको मध्य भागबाट लगातार पछि परेका उपाध्यक्ष बामदेव गौतमले पछिल्लो पटक मतान्तरलाई निकै घटाएका छन् ।
नेपाली काँग्रेसका नेताहरुले जित निश्चित भएको भनिरहेको बेला अाएको ताजा परिणामले उनीहरुलाई निरास बनाइदिएको छ । अाइतबार विहानसम्म चार हजार मतले पछाडि परेका गौमत दिउँसो २ बजे पछी पुग्दा भने त्यसलाई निकै घटाएका छन् । त्यसलाई १९२८ मा झारेपछि अब जित्ने सम्भावना बढेको छ ।
पछिल्लो अवस्थामा बामदेवले ३९ हजार ७ सय ८३ भोट पाउँदा नेपाली काँग्रेसका सञ्जय गौतमले ४१ हजार ७ सय ११ मत पाएर अग्रता लिइरहेकै छन् । तर पछिल्लो चरणमा बामदेवले जसरी मत तानेका छन त्यसलाई हेर्ने हो भने जित्ने नै देखिन्छ ।
उसो त एमाले र माओवादीको पकड मानिएका बर्दिया नगरपालिकाको वडा नम्बर ८, ९, १० र ११ को मत गन्न बाँकी छ । यहाँ ८ हजार ७ सय मत गन्न बाँकी छ । उक्त क्षेत्रको मत अब गनिँदैछ ।

एमालेको भोट त अाउँछ नै तर माकेका बालिया मानिएका क्षेत्रबाट कति भोट अाउँछ त्यसैमा बामदेवको जित वा हार छ ।
यसैबीच झापाको क्षेत्र नम्बर ३ ख क्षेत्रमा माओबादी केन्द्रका पूर्णप्रसाद राजबंशी विजयी हुनुभएको छ । उहाँले २२ हजार ६५ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका भगिरथ पोद्दारले १४ हजार ७ सय ३५ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उता रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ ।
कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । दर्जनौं सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी टोली त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।










