झापा क्षेत्र नं २ मा वाम गठबन्धनकी उम्मेदवार पवित्रा निरौला खरेल विजयी भएकीछन् । नेकपा एमालेकी नेतृ खरेलले नेपाली काँग्रेसका झापा सभापति उद्धव थापालाइ फराकिलो अन्तरले पछि पारेकीहुन् ।
खरेलले ४५ हजार ८ सय १७ मत ल्याएकीछन् । थापाले ३२ हजार ५० मतमात्र ल्याएकाछन् । खरेल संबिधानसभा निर्वाचनमा पराजित बनेकी थिइन् ।
पवित्रा निरौला (खरेल)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
झापा २
एमाले नेतृ पवित्रा निरौला खरेलको जन्म २०२० साल माघ २० गते झापाको दमकमा भएको हो । छविलाल र खड्गमाया निरौलाकी छोरी पवित्राका २ छोरी छन् । उहाँले आईएसम्मको अध्ययन गर्नुभएको छ । अध्ययनकै क्रममा राजनीति गर्दा जेल परेकाले उहाँले पढाई अघि बढाउन पाउनु भएन । २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनमा अनेरास्ववियुबाट राजनीतिमा लागेकी उहाँ अखिल नेपाल महिला संघको प्रथम राष्ट्रिय सम्मेलनको केन्द्रीय कमिटीको सदस्य निर्वाचित हुनुभयो । हाल उहाँ नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य र अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले नेकपा एमाले झापा जिल्ला कमिटीको सचिव भएर र झापा जिल्ला विकास समितिको मनोनित सदस्य भएर पनि काम गर्नुभएको छ । स्थानीय रुपमा सञ्चालन हुने सामाजिक काममा सक्रिय सहभागी हुने निरौलाले खानेपानी उपभोक्ता समिति, अन्तर पार्टी महिला सञ्जालमा रहेर पनि काम गर्नुभएको छ । पवित्रा २०३८ सालमा नेपाल महिला संघको गाउँ समिति सदस्य हुनुभयो । २०४० सालमा श्रमिक महिलाको विषयमा कार्यक्रम गर्दा उहाँलाई प्रहरीले पक्रिएको थियो । २६ दिन हिरासतमा बस्दा उहाँले प्रहरीको यातना समेत सहनु परेको थियो । तीन वर्षको जेल जीवनपछि २०४३ सालमा उहाँ जेलमुक्त हुनुभयो । २०४४ सालदेखि २०४६ सालसम्म पार्टी काममा इलाममा खटिएकी पवित्रा २०४६ सालको आन्दोलनअघि अनेमसंघको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । २०५४ सालमा जिल्ला विकास समिति झापाको मनोनित सदस्य भएकी निरौला २०६६ सालमा एमाले झापाको जिल्ला सचिव हुनुभयो । २०७० सालको चुनावमा झापा २ बाट उम्मेदवार बनेकी पवित्रा कांग्रेसका सुधिर शिवाकोटीसँग पराजित हुनुभएको थियो । हाल उहाँ एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य र अनेमसंघको केन्द्रीय सदस्य हुनुहुन्छ ।










