ओखलढुंगामा आफूलाई मन पर्ने नेता निर्वाचनमा पराजित भएको चोट सहन नसकेर ३७ वर्षीय केशव गुरुङको मस्तिष्कघातका कारण निधन भएको छ ।
गाउँघरमा बाबु नामबाट चिनिने सिद्धिचरण नगरपालिका–४ का गुरुङ प्रतिनिधिसभामा काँग्रेसका युवा नेता रामहरि खतिवडा पराजित भएको खबर सुन्नेबित्तिकै ढलेका थिए । टाउको दुख्यो भन्दै ढलेका गुरुङलाई हेलिकोप्टरमा काठमाण्डु ल्याइए पनि उपचार हुन सकेन । उनको राजधानीको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा निधन भयो । गुरुङ काँग्रेस निकट तरुण दलका क्षेत्र सभापति हुन् ।
गत स्थानीय तहको निर्वाचनमा उनी सिद्धिचरण नगरपालिका–४ को वडा अध्यक्ष पदमा उम्मेदवार थिए । तर, थोरै मतले पराजित भए । नेता खतिवडाले गुरुङको निधनमा दुःख व्यक्त गरे । ‘मेरो पराजयबारे खबर सुन्नेबित्तिकै ढल्नुभएछ, हेलिकोप्टर मगाएर काठमाण्डु पठाइयो तर बचाउन सकिएन’, खतिवडाले भने । गुरुङको पशुपति आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा काँग्रेस नेता प्रकाशमान सिंहले पार्टीको झण्डा ओढाएका थिए ।










