प्रतिनिधिसभाको समानुपातिकतर्फ ३६ लाख मत गणना भएको छ । यो कूल मतको ३४ प्रतिशत हो । १ करोड ५ लाख ८७ हजार ५ सय २१ मतमध्ये ३६ लाख २ हजार १ सय २० मतगणना सकिएको हो । अहिलेसम्मको मतगणनाअनुसार एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा छन् । अन्य दलले एक लाख भोट पनि कटाउन सकेका छैनन् । हालसम्म ठूला तीन पार्टीले मात्रै राष्ट्रिय दलको मान्यता प्राप्त गरका छन् । न्युज सेवामा खबर रहेको छ।
राष्ट्रिय दल बन्न कूल सदर मतको तीन प्रतिशत कटाउनु पर्ने हुन्छ । यसका लागि लगभग ३ लाख ५ हजार मत प्राप्त गर्नुपर्छ । तर, ठूला तीन पार्टीबाहेकका दलको नतिजा एक तिहाई मत गणना हुँदासम्म निकै कम देखिन्छ । संघीय समाजवादी फोरम नेपालले १ लाख मत कटाएपनि अन्य दल ८० हजारभन्दा तल नै छ । अहिलेसम्मको दरमा मात्रै मत प्राप्त भयो भने तीन ठूलाबाहेक संघीय समाजवादी मात्रै राष्ट्रिय दल बन्ने सम्भावना देखिन्छ ।
प्रत्यक्षतर्फ सिट प्राप्त गरेका अन्य दलहरु मध्ये राजपा नेपालको ६७ हजार मत मात्रै प्राप्त भएको छ । उसले तीन प्रतिशत कटाउन मतप्राप्त राम्रैसँग प्राप्त गर्नु पर्नेछ । प्रदेश नं. २ मा धेरै मत नगनिएकाले त्यहाँ गणना हुँदा राजपाले पनि तीन प्रतिशत कटाउने आँकलन गरिएको छ । तर, राप्रपालाई राष्ट्रिय दल बन्न मुस्किल देखिन्छ । राप्रपाभन्दा नयाँशक्ति डेन्जर जोनमा देखिन्छ । हालसम्म राप्रपाको झण्डै ८० हजार मत छ भने नयाँशक्तिको ४३ हजार मात्रै छ । ३६ लाख २ हजार १ सय २० मत गन्दा यस्तो छ दलहरुलाई प्राप्त मत :
नेकपा एमाले– १३१४०७३ नेपाली काँग्रेस– १२२२०१५ माओवादी केन्द्र– ५२४०८४ संघीय समाजवादी फोरम– १०८१५२ विवेकशील साझा– ७९६७४ राप्रपा– ७९६११ राजपा नेपाल– ६७४७२ नयाँ शक्ति– ४३२२४ राष्ट्रिय जनमोर्चा– २७८२२ राप्रपा (प्रजातान्त्रिक)– २७४३४ अन्य– १०८५५९










