वाम गठबन्धनले नयाँ सरकार गठन गर्ने कसरत सुरु गरेलगत्तै विभिन्न प्रदेशमा को मुख्यमन्त्री हुने भन्ने विषयले बढी चर्चा पाएको छ । यतिखेर केन्द्रीय राजधानी काठमाडौंसमेत रहेको प्रदेश नम्बर ३ मा धेरैले आफु मुख्यमन्त्री हुनुपर्ने दावी गर्दै आएका छन् ।

यस्तो अवस्थामा ३ नम्बर प्रदेशसभामा वाम गठबन्धनको दुईतिहाइ बढी स्थानमा बिजय हासिल हुनुले प्रदेशको पहिलो मुख्यमन्त्री बन्ने धेरै आकांक्षी देखिएका हुन् । अहिलेसम्म माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दावी नगरेपनि  एमालेका धेरै नेताले आफूलाई मुख्यमन्त्रीका रुपमा प्रस्तुत गर्दै उम्मेदवारी दिएका थिए । अहिले ती नेताहरू अधिकांश प्रदेश सांसद भइसकेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमालेबाटै मुख्यमन्त्री को हुने भन्नेमा अन्यौल भएको छ जसमा पार्टी उपाध्यक्ष तथा प्रदेश नम्बर ३ संयोजक अष्टलक्ष्मी शाक्यदेखि काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितसम्मले मुख्यमन्त्रीमा दावी गरेका छन् । त्यस्तै पोलिटब्युरो सदस्यहरू राजेन्द्र पाण्डे, पशुपति चौलागाई, सानु श्रेष्ठ, हेटौडा नरगपालिकाका पूर्वमेयर डोरमणि पौडेल पनि मुख्यमन्त्रीका आकांक्षी छन् ।

प्रदेशमा माओवादीसहितको सरकार बनेपनि मुख्यमन्त्रीमा एमालेले नै स्थान पाउने देखिएको एक नेताले बताए । ती नेताका अनुसार पार्टीमा वरिष्ठताको हिसाबले शाक्य मुख्यमन्त्रीको प्रमुख दाबेदार हुन् । आकांक्षी धेरै भए पनि पार्टी नेतृत्वमा वरिष्ठता आधारमा अष्टलक्ष्मी शाक्यको नाम सबैभन्दा अघि रहेको छ यदी शाक्य नवने मात्रै अन्यको पालो आउँछ ।

३ नम्बर प्रदेशसभामा प्रत्यक्षतर्फ ६६ सिटमध्ये वाम गठबन्धनले ५७ जितेको छ । जसमा एमालेले ४२ र माओवादी केन्द्रको १५ सिट छ । प्रदेशसभामा कांग्रेसले ७, नेमकिपाले १ र नयाँ शक्ति पार्टीले एक सिट जितेको छ । प्रदेशसभा समानुपातिकसहित ११० सदस्यीय हुनेछ ।