दैवी शक्ति प्राप्त धर्मगुरु, जन्मजात अवतारी र तेत्तीसकोटि देवताको अवतार भएको बताउने एक व्यक्ति, जो १२ रोपनीमा फैलिएको सुविधासम्पन्न गुम्बामा बस्छ, महँगो मोटर चढ्छ अनि हाइप्रोफाइल शैलीमा हिँड्छ । त्यो व्यक्ति आफू १० औं पुस्तासम्म एउटै कुलमा जन्मिएको, ईश्वरबाट विशेष ज्ञान प्राप्त गरेको र पूर्वजन्मका सबै रहस्य आफूलाई थाहा भएको ढोंग रच्छ । अझ रोचक त के भने जुनसुकै रोग निको पार्न सक्ने ‘दैवी शक्ति’ आफूमा भएको दाबीसमेत गर्छ ऊ ।
यद्यपि त्यही व्यक्ति उपचार गर्न आफ्नो शरणमा आइपुगेका महिलाहरूलाई विश्वासमा लिएर, डरत्रास तथा अनुचित प्रभावमा पारेर कुदृष्टि मात्र लगाउँदैन, उनीहरूलाई जालमा पार्छ र निरन्तर यौन शोषणको सिकार बनाउँछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५ मंसिरमा दैवी शक्ति भएको धर्मगुरु बताउँदै काठमाडौंको दक्षिणकालीमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा चलाएर महिलामाथि यौन शोषण गरेको आरोपमा ५६ वर्षीय छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामालाई पक्राउ गरेको छ । नेपालमा यौनशोषणको आरोपमा यति ठूला धर्मगुरु पक्राउ परेको सम्भवत: यो पहिलो घटना हो । साप्ताहिकमा खबर रहेको छ।

प्रहरीले टुल्कुले उपचारका नाममा महिलाको यौनशोषण गर्ने र त्यसको फोटो तथा भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिएर ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको समेत जनाएको छ । अवतारी लामा बताउने टुल्कुको फेसबुकमा पनि केही त्यस्तै खालका तस्बिर फेला परेका छन्, जसमा उनी युवतीसँग मस्त चुम्बन गरिरहेका देखिन्छन् । उक्त तस्बिरको क्याम्प्सन छ, ‘यसलाई नकारात्मक दृष्टिले हेरे तपार्इंले धेरै नकारात्मक समस्या, अप्ठ्यारा र रोगहरू झेल्नुपर्नेछ अनि अलौकिक शक्तिले तपाईंको नोक्सान गर्न सक्छ ।’
‘हिज हाइनेस गुरु रिम्बोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामा रिम्बोछे’ नाम दिइएको उक्त फेसबुक पेजमा लामाले आफू बादलमाथि रहेको, नागको आशन बनाइएको र आफ्नो टाउको पछाडितिर सूर्य रहेको फोटोसप गरिएका तस्बिर प्रयोग गरेर आफू ‘भगवान् नै भएको भ्रम दिन’ समेत खोजेका छन् । मृगको बथान, विभिन्न कार्यक्रम, जापान भ्रमण तथा आफ्ना भक्तसँग खिचिएका केही तस्बिर पनि उनको फेसबुकमा छन् । लामाले आफ्नो वेबसाइटमा आफूले नै पृथ्वी बचाएको दाबीसमेत गरेका छन् ।









