काठमाडौं २९ मंसिर– वामपन्थी गठबन्धन बनाएर चुनावमा गएका नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको गृहकार्य शुरु गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकार गठन लगायत समसामकिय बिषयमा शुक्रवार छलफल भएको छ ।

प्रतिनिधि सभाको सम्पूर्ण नतिजा आएपछि राष्ट्रपतिले संसद्को सबभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यबस्था छ । नयाँ प्रधानमन्त्री नियुक्त गर्न संसदको बैठक बसिराख्नु नपर्ने र राष्ट्रिय सभा गठन हुनु अनिवार्य नरहेको संविधानविद् खिमलाल देवकोटा बताउँछन् । नयाँ सरकार गठनको गृहकार्यसँगै सरकारमा सहभागिताको लागि दलहरुभित्र दौडधुप शुरु भएको छ ।   लोकान्तरमा खबर रहेको छ 

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चुनाव लगत्तै पार्टी एकीकरण गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको गृहकार्य थालेका छन् । सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र माओवादी सरकारमा सहभागि हुने पक्का जस्तैछ । नयाँ सरकारमा माओवादीका अतिरिक्त मधेस केन्द्रित दललाई समेत सहभागि गराउने गृहकार्य भइरहेको दुई दलका नेताहरु बताउँछन् ।

सरकारको नेतृत्वमा भन्दा भावी सरकारमा माओवादीको नेतृत्व कसले गर्ने भन्नेमा माओवादी भित्र आन्तरिक हानथाप देखिएको छ । सरकारमा माओवादीको नेतृत्वका लागि कृष्णबहादुर महरा, वर्षमान पुनदेखि जनार्दन शर्मा र टोपबहादुर रायमाझी सम्मले दाबी गरेका छन् ।

यसअघि ओली सरकार र देउवा सरकारमा उपप्रधानमन्त्री बनिसकेका महराले फेरिपनि सरकारमा माओवादीको नेतृत्व दाबी गर्ने माओवादी स्रोत बताउँछ । प्रचण्ड सरकारमा उर्जा मन्त्री र देउवा सरकारमा गृहमन्त्री बनेर प्रशंसनीय काम गरेका शर्माले पनि दाबी गरेका छन् ।

पहिलो संविधानसभाको कार्यकालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका वर्षमान पुनले नयाँ सरकारमा नेतृत्वको दावी गरेका माओवादी स्रोतहरु बताउछन् । २०७० सालको चुनावमा पराजित पुन ४ वर्ष सत्ताबाहिर रहेका थिए ।

यसअघि संसदीय दलको उपनेता बनिसकेका टोपबहादुर रायमाझीले पनि सरकारमा नेतृत्वको दावी गरेका छन् । पछिल्ला तीनवटा चुनावमा लगातार विजयी रायमाझीले पनि भावी सरकारमा माओवादीको नेतृत्व दावी गरेका छन् ।

माओवादीका तर्फवाट प्रदेश नम्बर १ बाट पूर्वअर्थमन्त्री महेश आचार्यलाई हराएका अमनलाल मोदी, प्रदेश नम्बर २ बाट मात्रिका यादव, प्रदेश नम्बर ३ बाट अग्नी सापकोटा, प्रदेश नम्बर ४ बाट देव गुरुङ, प्रदेश नम्बर ५ बाट पूर्व कमाण्डर चन्द्रप्रकाश खनाल बलदेव  लगायतले सरकारमा जाने दाबी पेश गरेका स्रोतको दाबी छ ।

प्रदेश नम्बर ७ बाट लेखराज भट्ट, महिलाबाट फम्फा भुसाल लगायतको चर्चा छ । एमालेले प्रधानमन्त्री पाउँदा प्रतिनिधि सभाको सभामुखमा माओवादीले दावी गर्ने सम्भावना रहेको बताइन्छ । माओवादीमा नारायणकाजी श्रेष्ठ समूहका गिरिराजमणि पोखरेल, मधेशबाट प्रभू साह, शिवकुमार मण्डल, हितबहादुर तामाङ, हरिबोल गजुरेल लगायत पनि सरकारमा सहभागि हुन लविङ गरिरहेका छन् ।

विगतको तुलनामा यसपटक मन्त्रालयको संख्या कम र मन्त्री बन्ने आकाक्षीको संख्या धेरै भएका कारण दलहरुलाई भागवण्डा मिलाउन सकस पर्ने देखिएको छ ।