नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिले जनादेशको सम्मान गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माण अभियानमा निरन्तर लागिरहने बताएका छन् ।

समानुपातिकतर्फ अपेक्षाकृत मत नआएपछि डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । ‘समानुपातिकतर्फ नयाँ शक्तिलाई अपेक्षित मत प्राप्त नभए पनि हामी जनादेशको सम्मान गर्छौं र वैकल्पिक राजनीतिक शक्ति निर्माण अभियानमा निरन्तर लागिरहनेछौं,’ उनी भन्छन्, ‘हामी आफ्ना कमीकमजोरीको निर्मम समीक्षा गरेर ५ ‘स’को लक्ष्यमा अविरल अघि बढिरहनेछौं ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले अब सबै वैकल्पिक शक्तिहरु एक ठाउँमा आउनुको विकल्प नरहेको बताए । ‘हाम्रै जीवनकालमा समृद्ध नेपाल बनाउनलाई बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियान जारी रहनेछ,’ ट्वीटरमा एक शुभचिन्तकको जिज्ञासा मेटाउँदै उनले भनेका छन्, ‘वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा आउनुको विकल्प पनि छैन । सबैले मनन गरौँ ।’

डा. भट्टराई र नयाँ शक्ति फेरि कुन गठबन्धनमा जाने हो भन्ने हल्ला चलिरहेको बेला उनले भनेका छन्,’नयाँ शक्ति कुनै पुरानो घरमा प्रवेश हैन नयाँ घर निर्माणकै अभियानमा छ ।’

विहीबार नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र साझा पार्टीका नेताबीच भेटवार्ता भएको थियो । नयाँ शक्तिले आज परिवर्तित सन्दर्भमा अगाडि बढ्नको लागि उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा संयोजक भट्टराईको उपस्थितिमा बस्ने बताइएको छ ।