एमाले र माओवादीको कुरा मिल्यो, यसरी गरिनेछ सरकार निर्माण र पार्टी एकता

काठमाडौं, २९ मंसिर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नयाँ सरकार निर्माण र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने सहमति भएको छ । यो सहमतिलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले महासचिव ईश्वर पोखरेलले सार्वजनिक गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा एमाले महासचिव पोखरेलले नयाँ सरकार गठन र माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने जानकारी गराए । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जितेलगत्तै चितवनबाट सरकार गठन र पार्टी एकीकरण सँगसँगै अघि बढ्ने बताएका थिए ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै एमाले महासचिव पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पारे ।

वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनु स्वभाविक भए पनि औपचारिक निर्णयपछि मात्र आफूले बोल्ने उनले जनाए । पार्टी एकताका लागि एकता संयोजन समितिले गृहकार्य गरिरहेको उनको भनाई छ ।

महासचिव पोखरेलले राष्ट्रियसभामा बहुमतीय प्रणालीमा निर्वाचन हुनुपर्ने र ताजा जनादेश आइसकेकाले वर्तमान सरकार नलम्ब्याई तत्काल नयाँ सरकार गठन गर्नुपर्नेमा पनि जोड दिए ।दैनिक नेपाल बाट सभार