नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री हुने कुनै लोभ नभएको बताएका छन् ।

आइतवार राजधानीमा आयोजित वाम गठवन्धनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफू यसअघि प्रधानमन्त्री भइसकेको र सजिलै पद छाडेको व्यक्ति भएकाले फेरि पनि प्रधानमन्त्री हुने कुनै लोभ नरहेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘पार्टी एकता भए पछि दुई नेता (ओली र प्रचण्ड)मध्ये को अध्यक्ष  र को प्रधानमन्त्री बन्ने ?’ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रचण्डले यस्तो भनेका हुन् ।

पत्रकारले सोधेको प्रश्नमा पहिले जवाफ दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका थिए । ओलीले आफू र प्रचण्ड पार्टी एकीकरण हुनु अगाडि नै अध्यक्ष रहेको र आफूहरुको बीचको एकता कुनै एक व्यक्तिको पार्टी अध्यक्ष हुने इच्छा पूरा गर्नका लागि नभएको बताए ।

‘म अहिले नै एमालेको अध्यक्ष छु र प्रचण्डजी माओवादीको अध्यक्ष हुनुहुन्छ । हामीलाई अध्यक्ष नै हुनुपर्ने हो भने त पार्टी एकीकरण नगर्दा नै अध्यक्ष भएका छौं नि,’ ओलीले भने, ‘हाम्रो एकता कुनै एक व्यक्तिको फाइदा अथवा अध्यक्ष बन्ने चाहना पूरा गर्नका लागि हैन । देशलाई समृद्ध बनाउन हो ।’

पत्रकारको पहिलो प्रश्नको जवाफ दिँदै ओली करिव २० मिनेटसम्म बोले । त्यसपछि सञ्चारकर्मीले अर्को प्रश्न राखे ।

अर्को प्रश्नको जवाफ दिने पालो प्रचण्डको आयो । उनले जवाफको शुरुमै केपी ओलीले त्यसअघि भनेका सबै कुराप्रति समर्थन रहेको बताए । र ओलीले एउटा कुरा भन्न छुटाएको उल्लेख गरे । ‘यसअघिको प्रश्नमा ओलीजीले सबै कुरा बताइसक्नु भएको छ । तर एउटा कुरा भन्न छुटाउनु भएको छ । हामी दुवैजना अध्यक्ष रहेकाले अध्यक्ष हुने लोभ त छैन नै,’ प्रचण्डले भने, ‘हामी दुवैजना प्रधानमन्त्री भइसकेका व्यक्ति पनि हौं । र सजिलै प्रधानमन्त्री पद छाडेका पनि हौं ।’

प्रचण्डले आफूसहित ओलीमा पनि प्रधानमन्त्री बन्ने लोभ नरहेको बताए । प्रचण्डले त्यसो भनिरहँदा ओली भने केही गम्भीर भएका जस्तो देखिन्थे । यद्यपि ओलीले त्यसमा कुनै प्रतिक्रिया जनाएनन् ।