प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले नराम्रोसँग हार बेहोरेपछि नेपाली कांग्रेसभित्र नेतृत्वले राजीनामा दिनुपर्ने कि नपर्ने भन्ने बहस सुरु भएको छ ।
सभापति शेरबहादुर देउवाको अदूरदर्शिताकै कारण पार्टीले पराजय बेहोर्नुपरेको निष्कर्ष निकाल्दै रामचन्द्र पौडेल तथा कृष्ण सिटौला पक्षका नेताहरुले विरोध गरेका छन् भने देउवा निकट मानिएका केही नेताले पनि देउवाको कार्यशैलीका कारण नै पार्टी पराजित अवस्थामा पुगेको भन्दै यसको दोष उनले बोक्नुपर्ने बताइरहेका छन् ।
कांग्रेसका एक प्रभावशाली नेताले बाह्रखरीसँगको अनौपचारिक कुराकानीका क्रममा भने, “चुनावका बेला देउवा छोइनसक्नुका थिए । हामीलाई समेत वास्ता गरेनन् । आफ्नो कोटरीका मान्छे भए हुन्छ भन्ने व्यवहार देखाए । चुनावमा पार्टी पराजित उनकै व्यवहार र कार्यशैलीकै कारण भएको हो । पहिले माओवादीसँग किन मिल्न गएको ? अनि एमालेसँग जाँदैछ भन्ने थाहा पाउँदा–पाउँदै किन रोक्न नसकेको ? यो नै हारको मुख्य कारण हो ।”
त्यसबाहेक तत्कालीन प्रधान न्यायाधीशमाथिको महाभियोग, प्रहरी प्रमुखमा देखाएको लिप्सा, पार्टीभित्रको चरम गुटबन्दी नै कांग्रेसको हारका अन्य कारक भएको उनले बताए ।
“हामीले पटक पटक ध्यानाकर्षण गरायौं,” उनले भने, “हामीले भनेको केही पनि सुनुवाई भएन । प्रधान न्यायाधीशमाथिको महाभियोग, प्रहरी प्रमुखको नियुक्तिलगायत कुनै पनि विषयमा पार्टीमा छलफल भएन । तर, त्यसको क्षति पार्टीले बेहोर्नुपर्यो । यसको जिम्मा लिँदै नेतृत्वले अब राजीनामा दिनुपर्छ ।”
नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्नेहरुमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुननरसिंह केसीलगायत नेताहरु छन् । उनीहरुले आन्तरिक छलफलाई पनि तीव्रता दिएका छन् ।
कांग्रेस नेता प्रकाशमान सिंह पार्टी हारको जिम्मा नेतृत्वले नै लिनुपर्ने बताउँछन् । उनले दुई दिनअघि काठमाडौंमा भएको एक कार्यक्रममा भनेका थिए– “पार्टीमा सुधार गर्नैपर्छ । यसको जिम्मा नेतृत्वले नै लिनुपर्छ । पार्टी कार्यकर्ताको भावनाअनुसार पार्टी नेतृत्वले पनि अब निर्णय लिनैपर्छ ।”
कांग्रेस नेता गगन थापाको पनि कांग्रेसमा अब सानोतिनो सुधारले नहुने ठहर छ । उनले बाह्रखरीसँगको कुराकानीमा भने, “राजीनामा समस्याको समाधानमात्रै होइन होला, तर जिम्मेवारी कसैले लिनुपर्दैन भन्ने पनि होइन । कांग्रेसमा सानोतिनो सुधारले अब हुँदै हुँदैन । यसको पुनर्संरचना गर्नैपर्छ । यसको श्रृङ्खला कहाँबाट सुरु हुन्छ भने केन्द्रीय समितिको बैठक बोलाएर त्यसले महासमितिमा जाने निर्णय गर्नुपर्छ । महासमितिले नै धेरै कुराको छिनोफानो गर्छ । पर्यो भने ‘अर्लि’ महाधिवेशन या विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ । मेरो धारणा के हो भने पार्टीको पहिलो पुस्ताका नेताहरुले स्वेच्छाले नयाँ भूमिकाको खोजी गर्नुपर्छ । त्यो भनेको संरक्षक हो ।”
थापाले त्यसबाहेक आफ्नो पुस्ताका सबै नेता जिल्ला–जिल्लामा संगठन विस्तारमा लाग्नुपर्नेमा जोड दिए । “उहाँहरुलाई हामीले अपमान गर्नु पनि हुँदैन । शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत नेताहरुले अभिभावक भएर बस्छौं भनेर उहाँहरुले भन्दा राम्रो हुन्छ । त्यो गर्नुभयो भने स्पेस पनि बन्छ तर, त्यो ठाउँमा हामी जाने होइन । मेरो पुस्ताको साथी अब तल्लो तहमा गएर काम गर्ने हो । जिल्ला–जिल्लामा गएर काम गर्ने हो । त्यतिले मात्रै पुग्दैन । जसले जिम्मा लिन्छ, उसले पार्टीका एजेण्डालाई स्पष्ट पार्नुपर्छ । हामी को हौं भन्ने स्पष्ट हुनुपर्छ । हामीले कसैको बारेमा चिन्ता नगरी स्पष्ट ढंगले अघि जानैपर्छ । जनतासँग फेरि जोडिनुपर्छ ।”
तर, देउवा निकटका नेताहरु भने अहिले नेतृत्वलाई दोष दिने बेला नभएको तर्क गर्छन् । “सभापतिले किन राजीनामा दिने ?” देउवा निकट एक नेता भन्छन्, “सबै कुरामा भाग चाहिने अनि हार सभापतिको कारणले मात्रै हुन्छ ? सरकारमा जाने, टिकट वितरण गर्ने बेलामा रामचन्द्र पौडेल, खुमबहादुर खड्का, कृष्ण सिटौला, प्रकाशमान सिंह सबैलाई भाग चाहिने, अहिले सबै जिम्मा सभापतिले मात्रै लिनुपर्ने ?”
कांग्रेस नेता एनपी साउद निर्वाचनमा पराजय भोगेको बेला पार्टीभित्रै आन्तरिक झगडा बढाउन खोज्नु पार्टी विरोधी क्रियाकलाप भएको दाबी गर्छन् । ‘‘पार्टीले पराजय भोगेका बेला आन्तरिक झगडा बढाउन खोज्नु पार्टी विरोधी क्रियाकलापमात्रै हो,’’ साउदले बाह्रखरीसँग भने, ‘‘कसैलाई सभापति हुन मन छ भने महाधिवेशनको प्रक्रिमा गए भयो, हुट्टिट्याउँले आकाश थामेजस्तो दम्भ नदेखाउँदा हुन्छ ।’’
नेतृत्वको कमजोरीका कारण प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अकल्पनीय पराजय भोग्नुपरेको भन्ने कांग्रेसकै कतिपय नेताहरुको भनाइको साउदले खण्डन गरे । स्वास्थ्यमा कुनै समस्या नभएको, ६–५ पटक चुनाव जितेको, महाधिवेशनबाट नेतृत्वमा चयन भएको, चार पटक मुलुकको नेतृत्व सम्हालिसकेको, प्रजातान्त्रिक आन्दोलनमा अनवरत रुपमा संलग्न, प्रजातन्त्रकै लागि १० वर्ष जेलनेल भोगेको व्यक्ति कमजोर हुनै नसक्ने नेता साउदको जिकिर थियो ।
देउवा निटक अर्का केन्द्रीय सदस्य रमेश लेखकले पनि अहिले सभापतिको राजीनामा मागेर पार्टीभित्र द्वन्द्व र बिग्रह पैदा गर्ने समय नभएको बताए । निर्वाचनको सुक्ष्म ढंगले विश्लेषण गरेर पार्टीलाई बलियो बनाएर अघि जाने समय आएको उनको भनाइ छ ।
‘‘चुनावमा पराजय भोगेकै आधारमा अहिले सभापतिको राजीनामा माग्ने समय होइन,’’ लेखकले भने, ‘‘चुनावलाई सुक्ष्म विश्लेषण गरेर थप एकतावद्ध भएर पार्टीलाई थप ऊर्जा दिन आवश्यक छ ।’’
भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस पराजित भए पनि समानुपातिकको मत परिणाम हेर्दा देशभरी कांग्रेसको मत नघटेको उनको भनाइ छ । ‘‘कम्युनिष्टहरुको राजनीतिक मोर्चाबन्दीले प्राविधिक रुपमा कांग्रेसको सिट घटेको हो । तर, समग्रमा देशभरी समानुपातिकको परिणाम हेर्दा कांग्रेसको मत घटेको छैन,’’ उनले भने ।बाह्रखरीबाट










