सरकारले खानामा म्यादीलाई पनि सिपाई सरह सेवा सुविधा दिने भने पनि दोलखा प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई प्रहरीको सिपाईसरह खानाको रकम नलिएर अत्यधिक महँगो गरेको र ज्यामीको कामसमेत लगाएको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन् ।

सदरमुकाम चरिकोटमा आज आन्दोलित म्यादीमाथि प्रहरीले लाठी प्रहार गर्दा आठजना म्यादी घाइते भएका छन् । त्यस क्रममा म्यादी प्रहरी संगीता नेपाली गम्भीर घाइते भएकि छिन् । खाना खुवाएवापत प्रहरी जवानबाट प्रतिछाक रु ६० काटे पनि जिप्रकाले म्यादीबाट भने रु ९५ प्रतिछाक पैसा काटिदिएपछि आन्दोलनमा उत्रनु परेको म्यादी प्रहरी नेत्रकुमारी घतानीले बताइन् । त्यसैगरी, महिला म्यादीमाथि दुव्र्यवहार गरिएको गुनासो पनि उनीहरुले गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिप्रकाले सुरक्षामा खटाउन छाडेर पुरुष म्यादीलाई पर्खाल लगाउनेसहितका ज्यामी काम लगाएको समेत उनीहरुको आरोप छ । आफूहरु अन्यायमा परेको भन्दै दोलखामा कार्यरत करिब ७५५ जना म्यादीले बर्दीको कपडा नै लगाएर सडकमा उत्रेका छन् । हाल जिल्ला प्रहरी कार्यालय दोलखाको कार्यकक्षमा म्यादी प्रहरीका १० जना प्रतिनिधि र प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीबीच वार्ता चलिरहेको छ ।

वार्ता निष्कर्षमा पुग्न सकेको छैन । प्रनाउ कार्कीले वार्ताबाट समस्या समाधान गर्ने बताउँदै जथाभावी आन्दोलन नगर्न म्यादीलाई आग्रह गरेका छन् ।