समानुपातिक तर्फको मतपत्रमा एमालेको सूर्य र माओवादीको गोलाकार भित्रको हंसिया हथौड दुवैमा धेरै मतदान भएका कारण वाम गठबन्धनका दुई दललाई समानुपातिकमा करिव १३ सिट नोक्सानी पुगेको देखिएको छ । एमाले र माओवादीले तालमेल हेरी एक अर्काको चुनाव चिन्हमा मतदान गर्न आफू समर्थक मतदातालाई आग्रह गरेका थिए ।

तर, प्रत्यक्षमा उम्मेदवार बाहेकको चुनाव चिन्ह मतपत्रमा नहुने भएका कारण एमाले र माओवादी समर्थक मतदाताको मत बदर नभए पनि समानुपातिकको मतपत्रमा दुवै दलका चुनाव चिन्हमा मतदान गर्दा धेरै मतपत्र बदर भएको देखिएको छ । समानुपातिक तर्फको मतगणना सकिएपछि फेला परेको बदरमतको तथ्यांकमा १० लाख ७९ हजार मत बदर भएको देखिन्छ । बदर भएका उक्त मत मध्ये सवैजसो एमालेको सूर्य र माओवादीको हंसिया हथौडामा छाप लागेको पाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समानुपातिकमा एमाले र माओवादीले पाएको मतको अनुपातमा वदरमत हिसाव गर्दा एमालेले समर्थक मतदाताको ७ लाख भन्दा बढि मत हंसिया हथौडामा पनि छाप लगाएकाले वदर भएको देखिन आउँछ । त्यस्तै माओवादी समर्थक २ लाख मतदाताको मत सूर्य चिन्हमा पनि छाप लागेकाले बदर हुन पुगेको देखिन्छ ।

चुनावको केही अगाडि गठबन्धन बनाएर निर्वाचनमा भाग लिएका एमाले र माओवादीले अलग अलग चुनाव चिन्ह लिएर चुनाव लडेका थिए । एउटै चुनाव चिन्हमा उनीहरुले सिट बाँडफाँड गरेर निर्वाचनमा भाग लिएको भए समानुपातिकमा उनीहरुले थप १३ सिट जित्न सक्ने देखिएको हो ।

चुनावपछि पार्टी एकीकरण समेत गर्ने वताएका यी दुई दलले पहिले एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनाव लड्ने सहमति गरेका थिए । तर, पछि प्राविधिक कारण देखाउँदै उनीहरु अलग अलग चुनाव चिन्हमा निर्वाचनमा सामेल भएका थिए । मतदातासमक्ष भोट माग्दा एमाले र माओवादीले मतपत्र हेरेर आफ्नो चुनाव चिन्हमा मतदान गर्न र आफ्नो चुनाव चिन्ह नभएका ठाउँमा सहयात्री दलको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका थिए । उनीहरुको तालमेल अनुरुपको मतदाता शिक्षा नहुँदा एमालेले करिव ७ लाख र माओवादीले करिव २ लाख मत समानुपातिकमा गुमाएको देखिन्छ । तालमेल अनुसारको मतदाता शिक्षा प्रभावकारी बनाउन सकेका भए समानुपातिकमा पनि एमाले र कांग्रेसको दूरी प्रत्यक्षमा जस्तै हुने देखिएको हो । प्रत्यक्षमा एमाले भन्दा ५७ सिटले पछि रहेको कांग्रेस यहि कारणले समानुपातिकमा करिव आधा लाख मतले मात्र एमाले भन्दा पछि रहन पुग्यो ।

यस्तै एमाले र माओवादी दुवैका चुनाव चिन्हमा परेर माओवादी समर्थक मतदाताको मत बदर नभएको भए माओवादी समग्र नतिजामा दोस्रो हुन सक्ने देखिएको छ । प्रत्यक्ष तर्फ दोस्रो रहेको माओवादी समानुपातिकको मत परिणाम आउँदा कांग्रेस भन्दा १० सिटले पछि परेको छ ।

यस्तै समानुपातिकतर्फ करिब १० लाख मत खेर गएको छ । कुल सदर मतको तीन प्रतिशत ल्याउन नसकेका कारण साना दललाई प्राप्त मत खेर गएको हो । खेर जाने र बदर मत जोड्दा २० लाख ७६ हजार हुन्छ । पहिलो चरणमा मंसिर १० र दोस्रो चरणमा मंसिर २१ मा भएको निर्वाचनमा १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेको थियो । समानुपातिकतर्फ ९५ लाख ८ हजार १ सय ४४ मत सदर भएको छ । खसेको मत र दलहरूले ल्याएको मतलाई हेर्दा १० प्रतिशत मत बदर छ ।

सदर मतको तीन प्रतिशत २ लाख ८५ हजार २ सय ४४ मत हुन्छ । तीन प्रतिशत मत कटाउने राजनीतिक दलले मात्र प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्व गर्न पाउने कानुनी व्यवस्था छ । प्रत्यक्षतर्फ एक सिट जितेका र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउने दलले राष्ट्रिय दलको मान्यता पाउँछन् ।