नेकपा एमालेका चर्चित नेता एवं मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लालबाबु पण्डितले चुनाव खर्चको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
पण्डितले सोमबार निर्वाचन अधिकृतको कार्यलय मोरङमा निर्वाचन खर्चसम्बन्धी विवरण बुझाएका हुन् । चुनाव जित्न अन्य उम्मेदवारले करोडौँ खर्च गरेको चर्चा चलिरहेको समयमा लालबाबुले भने १३ लाख १६ हजार रुपैयाँ मात्रै खर्च भएको विवरण आयोगमा बुझाएका हुन् ।
निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारका लागि २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो । तर, पण्डितले १३ लाख १६ हजार एक सय ६८ रुपैयाँ मात्रै खर्च गरेको विवरण बुझाएका छन् ।
लालबाबुले बुझाएको निर्वाचन खर्च विवरण अनुसार मतदाता नामवली खरिदमा १५ सय, सवारीमा दुई लाख ४० हजार, इन्धनमा ९८ हजार पाँच सय ५०, प्रचार सामाग्रीमा दुई लाख ८० हजार छ सय १५ र प्रचार सामाग्री ढुवानीमा ३४ हजार चार सय ६० रुपैयाँ खर्च भएको उल्लेख छ ।
त्यसैगरी गोष्ठी र कार्यकर्ता परिचालनमा २ लाख ८ हजार ६४, सञ्चारमाध्यमबाट प्रचारप्रसारमा एक लाख ८७ हजार, कार्यालय सञ्चालनमा एक लाख २० हजार ४ सय ७५, प्रतिनिधि परिचालनमा ६२ हजार ५ सय १४ र विविध शीर्षकमा ८३ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ ।
लालबाबुलाई चुनाव खर्च विदेशमा मजदुरी गर्ने नेपालीले पठाइदिएको बताएका छन् । । उनलाई खाडी मुलुकसहितका अन्य देशमा कार्यरत नेपालीले सहयोग गरेका हुन् ।
लालबाबुले चुनाव जितेपछि आर्थिक सहयोग गर्ने विदेशमा रहेका नेपाली र मोरङ क्षेत्र नम्बर ६ का मतदातालाई धन्यवाद दिएका छन् । उनले अब देश र जनताका लागि अझै काम गर्ने पनि बताएका छन् । ‘अब नेपालमै रोजगारीको वातावरण बनाउन भूमिका खेल्छु,’ उनले भनेका छन् ।
लालबाबुले मोरङ क्षेत्र नं ६ मा नेपाली कांग्रेसका डा शेखर कोइरालालाई पराजित गरेका थिए । ६७५ मतान्तरले विजयी भएका उनले ३३ हजार ९४१ मत ल्याएका थिए । कोइरालाले ३३ हजार २६६ मत ल्याए ।










