सुवास गोतामे

काठमाडौं : पूर्व डीआईजी नवराज सिलवालविरुद्ध ‘कीर्ते कागजात’ मुद्दा अगाडि बढाउनका लागि महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरीले मुख्य सचिव लोकदर्शन रेग्मीसँग बिहीबार परामर्श गरेको छ । रेग्मी आफैंले बिहीवार काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकलाई आफ्नो कार्यकक्षमा बोलाएर परामर्श गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिलवाललाई पक्राउ गरेर हिरासतमा लिने वा पक्राउ नगरी अनुसन्धानपछि मुद्दा बुझाउँदा पक्राउ गर्ने भन्नेबारे मुख्यसचिव रेग्मी र धानुकबीच छलफल भएको स्रोतले बतायो ।

छलफलका क्रममा रेग्मीले महान्यायाधिवक्ताको कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयसँग छलफल गरेर अगाडी बढ्न धानुकलाई सुझाएका थिए ।

फौजदारी मुद्दामा मुद्दा दर्ता भएर पनि पक्राउ नगरी अनुसन्धान गर्न छुट भएकाले काठमाडौं प्रहरीले तत्काल सिलवाललाई पक्राउ गर्ने छाँट दोखाएको छैन ।

मुख्य सचिव भेट्न आइजीपी पनि

काठमाडौँ प्रहरीको टोलीसँगै आइजीपी प्रकाश अर्याल पनि मुख्य सचिवलाई भेट्न पुगेको स्रोतले जनाएको छ । आइजीपी र मुख्य सचिवबीच पनि सिलवालमाथिको कीर्ते मुद्दामै केन्द्रित भएर छलफल भएको स्रोतले जानकारी दिएको छ ।

पूर्वडीआईजी तथा ललितपुर क्षेत्र १ का निर्वाचित सांसद नवराज सिलवालको कीर्ते मुद्दाको छानबिन बुधबार अघि बढाइएको थियो ।

कीर्ते गरेर सर्वोच्च अदालतका कागजात पेश गरेको विषयमा काठमाडौं प्रहरीले छानबिन सुरु गरेको काठमाडौंका प्रहरी परिसरले जानकारी दिएको थियो । प्रहरीले अदालतको आदेश पालना गर्ने क्रममा सिलवालको कीर्ते कागजातको छानबिन सुरु गरेको हो।

सिलवालको कीर्ते मुद्दालाई प्रहरीको उच्च नेतृत्वसँगको छलफलपछि छानबिनमा तानिएको हो। स्रोतका अनुसार सिलवालको मुद्दाको छानबिन अघि प्रहरीको उच्च नेतृत्वले विभिन्न चरणमा छलफल गरिसकेको छ। छलफलपछि छानबिनको जिम्मेवारी काठमाडौं परिसरले पाएको हो। अन्नपूर्ण पोस्ट बाट साभर