काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र वाम गठवन्धनका शीर्ष नेताहरु केपी शर्मा ओली र पुष्पकमल दहालसँग बिहीवार साँझ टोलिफोन संवाद गरेका छन् ।
नेपालमा मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठवन्धनले बहुमत ल्याएपछि भारतीय प्रधानमन्त्रीले नेपालका तीनै प्रमुख दलका अध्यक्षहरुसँग टेलिफोन कुराकानी गरेका हुन् ।
भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रवेश कुमारले यो टेलिफोन संवादको पुष्टि गरेका हुन् । ‘म अहिले तपाईहरुसँग कुरा गरिरहँदा हाम्रा प्रधानमन्त्री मोदीजीले नेपालका तीन शीर्ष नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दहालसँग टोलीफोनमा कुराकानी गर्दै हुनुहुन्छ’, उनले पत्रकार सम्मेलनमा भने ।
प्रवक्ता कुमारले कुराकानीको विषयबारेमा आफुले पछि जानकारी दिने समेत उल्लेख गरे । गत १० र २१ मंसिरमा भएको निर्वाचनको परिणाम आउन थालेपछि भारतले आफू निर्वाचनपछि नेपालमा बन्ने सरकारसँग काम गर्न इच्छुक रहेको भन्दै निर्वाचन गराएकोमा देउवा सरकार र नेपाली जनतालाई धन्यवाद दिएका थिए ।
तीनै नेतालाई बधाई
एमाले अध्यक्ष ओलीसँग भारतको सम्बन्ध राम्रो नरहेको चर्चा चलिरहेका बेला मंसिरको निर्वाचनमा वाम गठवन्धनले बहुमत ल्याएपछि भारतको चिन्ता बढेको बताइएको थियो ।
एमाले र माओवादी दुई घटकको वाम गठबन्धन सरकारमा जान लागेको कुराले भारत चिन्तित भएको समाचार र विश्लेषणहरु आइरहेका बेला मोदीको टेलिफोन संवादलाई अर्थपूर्णरुपमा लिइएको छ ।
केही दिनअघि होटल अन्नपूर्णमा भएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले समाचारमा आए जस्तो भारतसँग आफुहरुको सम्बन्ध नबिग्रेको बताएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले नेपालमा तीनवटै चुनाव गराएकोमा भारतीय प्रधानमन्त्री मोदीले देउवालाई बधाई दिएका थिए ।
‘यो चुनावले नेपालको लामो राजनीतिक संक्रमणकालललाई अन्त्य गरेको छ’, मोदीको भनाई उधृत गर्दै परियार अन्नपूर्णसँग भने, छिमेकी मुलुक स्थायित्व र समृद्धिको बाटोमा अघि बढ्दा हामी खुशी भएका छौँ ।’
त्यसैगरी ओली र दाहाललाई पनि टेलिफोनबाटै मोदीले चुनाव जित्न सफल भएको बधाई दिँदै आफूहरु वाम नेतृत्वको सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।










