दमक/एक सुत्केरी महिलाको ज्यान र्गएपछि दमकमा तनाव सिर्जना भएको छ । दूइ दिन अघि लाइफलाइन अस्पतालले मृगौलामा समस्या आएको बताउदै बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रेफर गरेको थियो ।
प्रतिष्ठानले बिरामीको उपचार गर्न नमानेपछि बिराटनगरस्थित बिराट नर्सिङ होममा उपचारको क्रममा विहिबार फाकतेप ५ पाँचथरकी २८ वर्षिया निर्मला फियाकको मृत्यु भएको थियो ।
पीडितका आफन्तहरुले लाइफलाइन अस्पतालले शुरुमा नै रेफर नगरेको र बिरामीको उपचारमा लापरवाही गरेका कारण नै बिराटनगरमा मृत्यु भएको आरोप लगाउदै अस्पताल घेराउमा आएपछि बिबाद भएको हो । लाइफ लाइन अस्पतालले घटनाको जिम्मेवारी लिनु पर्ने पीडित पक्षको माग रहेको छ ।
बिरामीको सफल शल्यक्रिया गरेको र पछि अचानक मृगौलामा समस्या देखिएका कारण थप उपचारका लागि आफूहरुले रेफर गरेको लाइफलाइन अस्पताल श्रोतले बताएको छ ।
अस्पतालमा नै दूइ पक्षबीच वार्ता शुरु भएपनि तनाव भएपछि त्यहाँ वार्ता हुन सकेन । अस्पतालमा तनाव सिर्जना भएपछि इलाका प्रहरी कार्यालय दमकमा अहिले विहिबार रातीसम्म छलफल भएको छ ।










