मोरङ । मोरङको सुन्दरहरैँचा, लेटाङ नगरपालिका तथा कानेपोखरी गाँउपालिका केही वडामा जंगली हात्तीले बितण्डा मच्चाउन थालेको छ । मोरङको सुन्दरहरैचाका केही वडामा पौष १ गतेदेखि दैनिक रातिको समयमा गाउँहमा हात्ती पसेर दुःख दिन थालेपछि नगरबासीहरुमा अहिले चिन्ता बढेको छ । विशेष गरेर रातिको समयमा उत्तरतर्पको चारकोसे झाडीबाट हात्ती गाउँघरमा दैनिक पसेर अन्नबाली खानुका साथै घरका टाटीबेरा वाल समेत भत्काउन थालेको छ । अन्नबाली लाने र खाने गरेको हात्ती नजिक जङ्गल भएका कारणले बढी आउने गरेको स्थानीयहरु बताउँछन् ।
सुन्दरहरँैचा १० मा हात्तीबाट पीडित भएका बासिन्दाहरु रातभरि सुत्न पाएका छैनन् । वर्षभरि दुःख गरेर खान भनेर राखेको धान, चामल हात्तीबाट जोगाउन मुस्किल परेको छ । २ ओटा हात्ती साथमा हात्तीको सानो बच्चा नगरको विभिन्न वडाहरुमा एकैसाथ रातको समयमा चहार्दा डर त्रास समेत बढेको छ ।
जङ्गली हात्तीले थाङ्ग्रोको मकै खाएर आलु तथा बाली लगाएको छिमेकीको खेतबारी माडेर बिगार गरी भागेको स्थानीय तिलक पाण्डेले बताए । आफ्नो घरमा समेत हात्ती रातिको समयमा आएर दुःख दिएकाले नियन्त्रण गर्न खासै ठुलो उपाय नभए पनि सबैले चनाखो भएर बस्न जरुरी रहेकाले यसको समाधानका लागि सम्बन्धित पक्षले चासो राख्नु पर्ने वडा नं. १० का वडा अध्यक्ष राजेन्द्रबहादुर थापाले बताए ।
नगरको वार्ड नं. ८ मा पनि जङ्गली हात्तीले अझै ठुलो आतङ्क मच्चाएको छ । हात्तीले त्यहाँका भट्टराई, ओझा, आपगाई तथा गुरागाईको घर तथा पसल भत्काएर धेरै क्षति पु¥याएको छ । हात्तीबाट पीडित भएकाहरु रातभरि सुत्न नपाएको र गाउँघर सुरक्षा गरेर बस्नुपरेको स्थानीय सुरेश दाहालले बताए । सलकपुरबाट सशस्त्र सुरक्षाकर्मी तथा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएका प्रहरीहरुले हात्तीको आतङ्कबाट जनधनको सुरक्षा गर्ने कोसिस गरेर हात्तीले पु¥याएको क्षतिको निरीक्षण गरी क्षतिपूर्तिको लागि माग गर्ने योजना रहेको वडा नं. ८ का वडा अध्यक्ष ख्याम न्यौपानेले बताए ।
यस नगरको वार्ड नं. ११ मा पनि हात्ती घुम्दै फिर्दै गरेर कमल ढकालको धानको कुन्यूमा बिगार गरेको छ । घरमा गारो पल्टाएर धान चामलको बोरा बाहिर निकाली खाएर अन्य वडा तर्फ भागेको थियो । रातैभरि मान्छेलाई त्यस वडामा पनि हात्तीले सुत्न नदिएपछि हात्ती भगाउन कसैले आगो बालेका,े कोही सारो सारो कराएर जानकारी फैलाउने गरेको स्थानीय राधाकृष्ण ढकालले बताए । जङ्गली हात्तीको सबैलाई डर हुने भएकाले गाउँघरको भित्री भागमा उज्यालो सडक बत्तीको समेत अझै आवश्यकता भएको वडा नं. ११ का वडा अध्यक्ष बिसनलाल चौधरीले बताए ।
अहिलेसम्म कुनै मानबिय क्षति नभएपनि हात्ती आतङ्क कम गर्न सरकारले तत्काल हात्ती प्रभावित क्षेत्रमा उज्यालो बत्ती तथा साइरनको व्यवस्था गर्न जरुरी रहेको स्थानीयहरुको माग छ । हात्तीबाट समस्या भएका विभिन्न वडाका वासिन्दाहरुलाई यसको समाधानको लागि सक्दो सहयोग गर्ने योजना अघि बढाउन पहल गरिने सुन्दरहरैँचा न.पा.का कार्यकारी अधिकृत गणेशराज कार्कीले बताए ।
अन्य वर्षको तुलनामा यस वर्ष हात्तीले उत्तरी मोरङको विभिन्न क्षेत्रमा मानव जनजीवनलाई निकै दुःख दिएको छ । मोरङको कानेपोखरी ६ मा पनि जङ्गली हात्तीले घरहरु भत्काउने गरेको छ । कानेपोखरीको उत्तरतर्फ फराकिलो चारकोसे झाडी रहेकाले त्यहाँ झनै हात्तीले धेरै दुःख दिने गरेको छ । त्यहाँका स्थानीय रामबहादुर लिम्बू, डिकबहादुर लिम्बू, सुरेन्द्र देवान, सुनिता तामाङ तथा कौशिला राई लगायतको घर, गोठ तथा अन्नबालीमा हात्तीले क्षति पु¥याएको छ ।
उनीहरुले रातभरि जाग्राम बसेर हात्ती खेदाउने उपाय गर्दै यसको समाधानको पक्षमा पहल गर्न सरोकारवाला पक्षसँग अनुरोध गरेका छन् । मोरङको लेटाङ नगरपालिकाका केही वडामा समेत हात्तीले दुःख दिने गरेको छ । हात्ती आतङ्क विशेष गरेर हिउँदको समयमा हुने भएकाले अन्नवाली खाने, घुमफिर गर्न विशेष मन पराउने हात्तीबाट कसैले अनावश्यक डर त्रास नलिएर सकारात्मक चेतना फैलाउन जरुरी रहेको तथा समाधानका उपायहरुको खोजी गरी कामसमेत अघि बढाउने योजना रहेको सुन्दररहैँचा न.पा.का प्रमुख शिवप्रसाद ढकालले बताए ।
उत्तरी मोरङमा बच्चा भएको हात्ती कहिलेकाहीँ लामो समयसम्म पनि एकै ठाउँमा बस्ने गरेको छ । वनरक्षकहरुसँग यसलाई भगाउने र संरक्षण गर्ने विशेष सिप हुन्छ । मोरङको सुन्दरहरँैचा तथा कानेपोखरी लगायतका स्थानहरुमा हात्तीको आतङ्क बढेको सूचना आएकाले यसका लागि आफूले हात्ती प्रभावित क्षेत्रको निरीक्षण गरेर सुरक्षाको व्यवस्थामा समेत समय अनुकूल बनाउन पहल गरेको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले टेलिफोन सम्पर्कमा बताए ।
जङ्गली हात्तीको आतङ्कको बारेमा बुझ्दा जिल्ला वन कार्यालयका प्रमुख डा. विनोदप्रसाद देवकोटाले सुरक्षाकर्मी, सामुदायिक वनका सरोकारवालाहरुलाई समेत आफूले जानकारी गराएको हुँदा यसको समाधानमा पहल गर्ने बताए । देवकोटाले हात्तीको प्रकृति र स्वभाव बताउँदै हात्ती शान्तिप्रिय जनावर भएकाले हिंस्रक जनावरले जस्तो आक्रमण गर्न नजाने किसिमको प्राणी हो तर कसैले जिस्क्याएमा आक्रमण गर्र्ने भएकाले यस जनावरलाई कसैले जिस्काउन नहुने बताए ।
उनले घुमफिर गर्न हात्ती यताउता निस्कने भएकाले बाँदरजस्तो हात्तीलाई धपाउन नमिल्ने, ठुलो जनावर भएको हुँदा उनीहरुलाई वनजङ्गल मासिँदै गएकाले आफू अनुकूलको वातावरण नभएर यताउति भौँतारिएर आहारको खोजीमा हिँडेको बताए ।










