मंसीर २१ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा झापाका २० जना उम्मेदवारले १०० मत पनि प्राप्त गरेनन् । सय मत पनि नपाउनेमा बढी उम्मेदवार प्रदेशसभाका छन् ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार प्रतिनिधि सभातर्फका ९ र प्रदेशसभातर्फका ११ गरी २० जना उम्मेदवारले सय मत पनि नल्याएका हुन् । सय मत पनि नपाउने उम्मेदवारहरुमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ४ का ५ जना र क्षेत्र नम्बर ५ का ४ जना उम्मेदवार छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्षेत्र नम्बर १, २ र ३ बाट उम्मेदवारी दिएका सबै उम्मेदवारले सय मतको संक्रमण व्यहोर्नु परेन । सय मत प्राप्त गर्न नसक्ने उम्मेदवारहरुमध्ये धेरैजसो स्वतन्त्र उम्मेदवार छन् । प्रदेशसभाका र प्रतिनिधिसभातर्फका समान ६ जना स्वतन्त्र उम्मेदवारहरुले सय मत पनि नपाएका जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा भेटिन्छ । बाँकी ८ जना विभिन्न राजनीतिक दलका उम्मेदवार हुन् ।

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका इन्द्रराज अधिकारीले सबैभन्दा कम ६ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर ५ अन्तरगत प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवारी दिएका हरिप्रसाद अधिकारी, खड्गप्रसाद शिवाकोटी र २ बाट उम्मेदवारी दिएका डम्बरबहादुर गुरुङ्गले समान ७ मत मात्र प्राप्त गरेको कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, क्षेत्र नम्बर ४ बाट मंगोल नेशनल अर्गनाइजेसनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारी रुद्रबहादुर राईले ९४ मत प्राप्त गर्दा ग्रीन पार्टी नेपालका सुभाष अधिकारीले ९० मतमात्र प्राप्त गरे ।

सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका यज्ञबहादुर खड्का, पर्शुराम काफ्ले र डिल्लीप्रसाद कट्टेलले क्रमशः ३७, १८ र १३ मतमा चित्त बुझाउनु पर्यो । क्षेत्र नम्बर ५ बाट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालकातर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका बासुदेव दुलालले ९९, स्वतन्त्र उम्मेदवार प्रेमबहादुर खड्काले ५५, इन्द्रप्रसाद न्यौपानेले १३ मतभन्दा बढी ल्याउनै सकेनन् ।

निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा २ बाट राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार ख्यामबहादुर सुब्बाले ९९ मत मात्र पाए । क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा १ बाट मंगोल नेशनल अर्गनाइजेसनका देवेन्द्र राईले ७५ मत मात्र प्राप्त गरेका छन् ।

प्रदेशसभा २ बाट ग्रीन पार्टी नेपालका जगन्नाथ अधिकारीले ९४, मंगोल नेशनल अर्गनाइजेसनका फूलमान तामाङले ९३, राष्ट्रिय जनमोर्चाका पुरोषत्तम काफ्लेले ५५, राष्ट्रिय शिवसेना पार्टीका धिरजनारायण गणेशले २५ र स्वतन्त्र उम्मेदवार धनकुमार बुढाथोकी र दिनानाथ खतिवडाले क्रमशः ४२ र १२ मत ल्याएको तथ्याङ्क छ ।