एमाले अध्यक्ष केपी ओलीले चुनाव जितेका खण्डमा गृहमन्त्री बनाउने उद्घोष गरेपछि नेपालको राजनीतिमा चर्चामा छाएका पूर्व डिआइजी एवम् ललितपुर क्षेत्र नं. १ का साझा वामपन्थी उम्मेदवार नवराज सिलवालले निर्वाचन त जिते तर लगत्तै उनीविरुद्ध लक्षित गरी कीर्ते प्रकरण जोडिन पुग्यो।
जसका कारण उनको सांसद पद धरापमा पर्ने हो कि भन्ने अवस्था सिर्जना भएको छ। सर्वोच्च अदालतको फैसला अनुरूप पूर्वडिआइजी एवम् ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ ।
अदालतले डिआइजीबाट राजीनामा दिँदै प्रतिनिधिसभामा निर्वाचित भएका सिलवालको बढुवा विवादसम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उनले बुझाएको विवरण त्रुटिपूर्ण भएको ठहर गरेको थियो ।
सर्वोच्चले लोकसेवा आयोगलगायतका निकायमा अति गोप्य रहने कार्यसम्पादन मूल्यांकन (कासमू) सिलवालले कसरी पाए भन्ने प्रश्न उठाउँदै सो विवरण केरमेट गरी अदालतमा प्रस्तुत गरेको विषयमा अनुसन्धान गरी कारवाही गर्न परमादेशको आदेश जारी गरेको थियो ।
२०७४ भदौ २७ मा सुनाएको फैसलाको पूर्णपाठमा सर्वोच्चले गोप्य रहने कासमू फरक पार्ने कार्यमा संलग्न सबैलाई अनुसन्धान गरी दोषीउपर कारवाही चलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतका नाममा आदेश जारी गरेको हो ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहित न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मिरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको इजलाशले यस्तो आदेश दिएको हो ।
फैसलाको पूर्णपाठमा सिलवालले आफू प्रहरी प्रमुख हुनका लागि नक्कली कार्यसम्पादन मूल्यांकन पेश गरेको ठहर गरिएको छ । लोकसेवा आयोगलगायत निकायमा अति गोप्य रहने कार्य सम्पादन मूल्यांकन फारम सिलवालले सर्वोच्चमा आफू प्रतिस्पर्धीमध्ये अग्रस्थानमा रहेको दाबीका साथ पेश गरेका थिए ।
‘अदालतबाट निवेदकलगायत सबै उम्मेदवारको लोकसेवा आयोगलगायतका निकायबाट प्राप्त कार्य सम्पादन मूल्यांकन फारमका सक्कलै रहेका गोप्य सिलबन्दी खाम मगाई खोलिहेर्दा निवेदकले दाबी गरेजस्तो निवेदकको सक्कली कार्यसम्पादन मूल्यांकन फारममा अंक रहेको देखिँदैन,’ पूर्णपाठमा भनिएको छ, ‘यी निवेदकले निवेदनका साथ पेश गरेको कार्यसम्पादन मूल्यांकन फारमको अंक र लोकसेवा आयोगलगायतका निकायबाट प्राप्त कार्यसम्पादन मूल्यांकन अंक भिन्न–भिन्न रहेको देखिएकाले अख्तियार प्राप्त अधिकारीले कानुनबमोजिम मूल्यांकन गरी गोप्य रूपमा राख्नुपर्ने कार्यसम्पादन मूल्यांकन फारम र निवेदकले पेश गरेको कासमू फरक पार्ने कार्यमा के–कसको संलग्नता रहेको हो अनुसन्धान गरी दोषीउपर कारवाही चलाउन सम्बन्धित निकायमा लेखी पठाउनू ।’
फैसला कार्यान्वयन निर्देशनालयले सर्वोच्चको फैसलाको पूर्णपाठ कार्यान्वयनका लागि महानगरीय प्रहरी परिसरमा लेखिपठाएको थियो । निर्देशनालयको पत्रअनुसार हालै प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका पूर्वडिआइजी नवराज सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ ।
जाहेरी दर्ता भएसँगै सिलवाल फरार अभियुक्त भएका छन् । डिआइजीको कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै सर्वोच्च अदालतले कीर्ते गर्नेहरूलाई अनुसन्धान गरी कारवाहीको आदेश दिएको थियो । सर्वोच्चको फैसलाको पूर्णपाठसहितको पत्र गएपछि सिलवालविरुद्ध बुधवार जाहेरी दर्ता भएको हो ।
जाहेरी दर्ता भएको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी रविन्द्र धानुकले भने, ‘कानुनअनुसार प्रक्रिया अघि बढेको छ ।’ जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएसँगै सिलवाल सांसदबाट निलम्बनमा पर्नेछन् ।
विवादित डिएसपी फर्किए सुरक्षा निकायको जिम्मेवार प्रहरी अधिकृत त्यसमाथि पनि निर्वाचनका समयमा महानगरीय प्रहरी वृत्त, ठिमी क्षेत्रको कमाण्डर सम्हालेका नेपाल प्रहरीका डिएसपी प्रज्वल महर्जन एमालेको संगठित सदस्यझैँ एमालेको पक्षमा लागेर काँग्रेसविरुद्धमा सक्रिय रहेको आरोप काँग्रेसले लगाएपछि मंसिर २१ गते निर्वाचनकै दिनमा हटाइएका उनी पुनः ठिमी वृत्त नै फर्किएका छन् ।
निर्वाचनका दिन बालकोटमा काँग्रेस र एमाले समर्थक कार्यकर्ताहरूबीच भएको झडप र तोडफोडमा संलग्न एमालेका कार्यकर्ताहरूलाई पक्राउ गर्नुको साटो उल्टो संरक्षण दिएर भगाएको आरोप डिएसपी महर्जनमाथि लागेको थियो ।
निर्वाचनका दिन काँग्रेसको बढी संख्या र गढ मानिने बालकोटमा एमालेका कार्यकर्ताहरूले काँग्रेसका घरहरू छानी छानी तोडफोड गरेका थिए । त्यस क्रममा ढुंगा हान्ने एमाले कार्यकर्ताहरूलाई डिएसपीले पक्राउ गरेका थिएनन् ।
जबकि तोडफोडपछि भागदौड गरेका एमालेका कार्यकर्ताहरू ठिमी चोक हुँदै भागेका थिए र डिएसपी प्रज्वल महर्जन त्यहीँ ठिमी चोकमा रहेका थिए । तोडफाडमा संलग्न एमाले कार्यकर्ताहरूलाई पक्राउ गर्न निर्देशन दिनुको साटो उल्टो भगाएपछि डिएसपी महर्जनविरुद्ध ठिमी चोकमा नाराबाजीसमेत भएको थियो ।
नाराबाजीमा काँग्रेस कार्यकर्ताहरूले ‘नालायक डिएसपी मुर्दाबाद’ भन्ने आरोपसमेत लगाएका थिए । डिएसपी नहटाईकन मत गणना सम्पन्न हुने अवस्था नदेखिएपछि निज महर्जनलाई त्यहाँबाट हटाई मेट्रोमा कार्यरत अर्का डिएसपी सन्तोष भट्टराईलाई ठिमी वृत्तको प्रमुख बनाइएको थियो ।
त्यसपछि महर्जन ७ दिन बिदामा बसेका थिए । अस्ति बुधवारका दिनदेखि महर्जन पुनः ठिमी वृत्तमा हाजिर भएका छन् । ठिमीमा प्रहरी प्रमुख भई आएदेखि नै उनी विवादमा पर्दै आएका थिए ।
ठिमी नगरपालिकामा एमालेका तर्फबाट निर्वाचित नगरप्रमुख मदनसुन्दर श्रेष्ठसँग सधैँ बसउठ र खाइपिई गर्ने र स–साना विवाद र केशहरू जसलाई सामान्य हप्काएर टुंग्याउन सकिन्छ त्यस्ता केशहरूमा समेत मुद्दा चलाउने, अनावश्यक दुःख दिने गर्न थालेपछि डिएसपी प्रज्वल महर्जन ठिमीवासीहरूको तारो बन्दै आएका छन् ।
तर, राजनीतिकरूपमा एमालेसँग नजिक रहेका र उनलाई प्रहरी संगठनभित्र एमालेको लेवी बुझाउने प्रहरी अधिकृतका रूपमा समेत आरोप लाग्दै आएको छ । त्यो आरोपको पुष्टि उनले यस पटकको चुनावमा भक्तपुरको ठिमी क्षेत्रमा देखाएको आरोप काँग्रेस पक्षले लगाएको छ ।
निर्वाचनको अघिल्लो रात २० गते राति १२ बजेको समयमा ठिमीको चपाचो जुन ५ नम्बर वडामा पर्दछ स्वयम् महेश बस्नेत निलो स्कार्पियो गाडीमा आफैँ आई काँग्रेसका तर्फबाट उम्मेदवार रहेका दमननाथ ढुंगानाका विरुद्ध छापिएका पर्चा पम्प्लेटहरू वितरणमात्र गरेनन् कि पैसा समेत वितरण गर्दै गरेको अवस्थामा काँग्रेस कार्यकर्ताहरूले उक्त स्कार्पियो गाडीको चावीसमेत खोस्न सफल भए ।
त्यसपछि तत्कालै डिएसपी प्रज्वल महर्जनलाई काँग्रेसका स्थानीय नेताहरूले जानकारी गराउँदासमेत उनले उल्टो पैसा र आचारसंहिताविपरीत पर्चा र पम्प्लेट बाँड्ने महेश बस्नेत र उनका कार्यकर्ताहरूलाई पक्राउ होइन उल्टो जोगाएर पठाउने काम गरे ।
काँग्रेस कार्यकर्ताहरूले गाडीको चावी थुतेको थाहा पाएपछि महेश बस्नेत पक्षधर हजारौँ गुण्डाहरू मोटरसाइकलमा घटनास्थलमा पुगे पनि उल्टो डिएसपीले उनीहरूको बचाउ गरेपछि काँग्रेस कार्यकर्ताहरू आक्रोशित बनेका थिए । यस्ता विवादास्पद डिएसपी प्रज्वल महर्जन पुनः ठिमी वृत्तमा फर्किएका छन् ।
उनले मासिक रकम लिएर निर्वाचनभन्दा अघि ठूलो जुवा अखडा सञ्चालन गर्दै आएका थिए । भाग नमिल्दा जुवा सञ्चालक शैलेस श्रेष्ठसमेतका व्यक्तिहरू पक्राउ गरे पनि १० मिनेटमा नै उनी छोड्न बाध्य भएका थिए । जुवा अखडाबाट मासिक उनले लाखौँ रूपैयाँ बुझ्ने गरेको तथ्य यसअघि नै विभिन्न छापाहरूमा सार्वजनिक भइसकेको छ ।
सशस्त्र प्रहरीका डिएसपीको असुली संगठनको नेतृत्व तह कमजोर भएपछि मातहतका कार्यालय प्रमुखहरू कति छाडा हुन्छन् र व्यक्तिगत फाइदाका लागि कति लालायित हुन्छन् भन्ने कुरा सशस्त्र प्रहरी बलका सिराहाका डिएसपी डम्बर विष्टको क्रियाकलापले पुष्टि गरेको छ ।
संगठन प्रमुख सिंहबहादुर श्रेष्ठको सोझोपनको फाइदा उठाउँदै यतिबेला तराईका सीमावर्ती जिल्लाका सिसुका प्रमुखदेखि बेस क्याम्पका प्रमुखसम्मले रकम असुल्ने अभियानलाई तीव्रता दिइरहेका छन् ।
मिर्चैयास्थित सशस्त्रको बेस क्याम्पका डिएसपी डम्बर विष्टले सहायक हवल्दार मन्तोष सिंहलाई प्रयोग गरी केही निश्चित व्यापारीहरूबाट रकम असुल्ने कार्य गरिरहेका छन् ।
जितेन्दर पासवान र राजकिशोर यादव नामका व्यापारीहरू मिर्चैया नगरपालिकाका चर्चित तस्करहरूका रूपमा चिनिन्छन् । उनीहरूले सीमावर्ती क्षेत्रबाट सेटिंग मिलाई ठूलो मात्रामा तस्करी गर्ने गर्दछन् भने उनीहरू मिर्चैया बजारका ठूला व्यापारीका रूपमा समेत चिनिन्छन् ।
यी दुईलाई तस्करीको लाइन दिई डिएसपी विष्टले मासिक मोटो रकम लिने गरेको आरोप सोही बेस क्याम्पका एक अधिकृतले लगाएका छन् । मिर्चैया नजिक भारतीय सीमावर्ती क्षेत्र माडर पर्ने गर्दछ र त्यस नाकाबाट ठूलो तस्करी हुँदै आएको छ ।
डिएसपी विष्टले सहायक हवल्दार सिंहमार्फत् तस्करी गराउन छुट दिएवापत यी व्यापारीहरूबाट यसरी रकम असुल्ने गरेका हुन् । विगत डेढ वर्षदेखि मिर्चैया बेसक्याम्पको घुमुवाको रूपमा परिचालित मन्तोष सिंहलाई विष्टभन्दा अगाडिका डिएसपीले पनि घुमुवाका रूपमा राखी असुल्ने कार्यमा प्रयोग गरेका थिए, नव जनप्रहारमा उल्लेख छ ।
घुमुवा मन्तोष सिंहले त्यस क्षेत्रबाट तस्करी गर्ने धेरै तस्करहरू चिनेको र तराईबासीनै भएका कारण विष्टले आफू आएपछि पनि निजलाई घुमुवाका रूपमा प्रयोग गरी रकम असुल्ने कार्यमा प्रयोग गरिरहेका छन् । न्यूज अभियान बाट










